काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सुदूरपश्चिम प्रदेशका पूर्वसभापति वीरबहादुर बलायरले आफूहरूले कुनै माग नराख्दा पनि पार्टीको केन्द्रीय कार्यालय सानेपा डराइरहेको टिप्पणी गरेका छन्।
शुक्रबार कांग्रेसको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै बलायरले सीमित व्यक्तिको भरमा राजनीति गर्न नसकिने बताए। उनले राजनीति क्षमता र कार्यकर्ताको विश्वास जितेर गरिने विषय भएको उल्लेख गरे।
बलायरले भने, “कसैले सानेपासँग केही मागेको छैन, तर त्यहाँ डर छ। त्यो डर भनेको यदि आज ती आइहाले भने अझ हाम्रा दिन उसै हुने हुन्। राजनीति क्षमताले खाने चिज हो, क्षमताले गर्ने चिज हो, कार्यकर्ताको आत्मविश्वास जितेर गरिने चिज हो।”
उनले सीमित ‘हनुमान’लाई साथमा लिएर पार्टीको गन्तव्यमा पुग्न नसकिने टिप्पणी गरे।
‘म कांग्रेस २.० मा पर्दिनँ’
बलायरले आफू अहिले चर्चामा रहेको ‘कांग्रेस २.०’ मा नपर्ने बताएका छन्। बाध्यात्मक रूपमा त्यसमा सहभागी हुनुपर्ने अवस्था आए पनि आफू त्यसमा नरहने उनको भनाइ छ।
उनले भने, “२.० भनेको बीपीदेखि शेरबहादुरसम्मको अन्त्य र एउटा नयाँ व्यक्तिको सुरुआतबाट सुरु भएको दोस्रो कांग्रेस हो, त्यसमा म पर्दिन।”
बलायरले पार्टीभित्रको नेतृत्व र राजनीतिक भविष्य कार्यकर्ताको विश्वास तथा नेताको क्षमताका आधारमा तय हुनुपर्नेमा जोड दिए।
सानेपामाथि कटाक्ष
बलायरले आफूहरूले कुनै माग नराखेको अवस्थामा समेत सानेपामा ‘उनीहरू आउन सक्ने’ भन्दै डर देखिएको बताए।
उनका अनुसार पार्टीमा नेतृत्व स्थापित गर्न सीमित व्यक्तिको समर्थनभन्दा कार्यकर्ताको विश्वास र राजनीतिक क्षमता आवश्यक हुन्छ। उनले कांग्रेसलाई बलियो बनाउन सबै पक्षलाई समेटेर अघि बढ्नुपर्ने संकेतसमेत गरे।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्