काठमाडौ । नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकको कार्यालयमा प्रहरी प्रवेश गरी कम्प्युटर, मोबाइल फोनलगायत सञ्चार सामग्री नियन्त्रणमा लिएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ।
महासंघले शुक्रबार विज्ञप्ति जारी गर्दै प्रहरीको उक्त कदम प्रेस स्वतन्त्रता र सञ्चारको संवैधानिक अधिकारमाथिको गम्भीर हस्तक्षेप भएको जनाएको हो।
महासंघले नेपालको संविधानको धारा १९ को उपधारा २ ले कुनै समाचार, लेख, सम्पादकीय, सूचना वा अन्य सामग्री प्रकाशन वा प्रसारण गरेकै आधारमा सञ्चारमाध्यम बन्द, जफत वा दर्ता खारेज गर्न तथा त्यस्तो सामग्री जफत गर्न नपाइने व्यवस्था गरेको स्मरण गराएको छ।
‘सम्पादकीय कक्षमा हातहतियारसहित प्रहरी प्रवेश गरी सञ्चार उपकरण र सामग्री नियन्त्रणमा लिई जफत गर्नु पहिलो दृष्टिमै संविधानप्रदत्त प्रेस स्वतन्त्रता र सञ्चारको हकमाथिको गम्भीर हस्तक्षेप हो,’ महासंघले भनेको छ।
समाचार स्रोतमा पहुँच राख्न सरकारले अपनाएको यस्तो शैली असंवैधानिक र गैरकानुनी भएको महासंघको ठहर छ। यसले प्रेस स्वतन्त्रतासँगै नागरिकको सूचनाको हकमासमेत प्रत्यक्ष असर पार्ने महासंघले जनाएको छ।
महासंघले नियन्त्रणमा लिइएका सञ्चार सामग्री तत्काल फिर्ता गर्न, संविधानको पालना गर्न तथा समाचार स्रोत र सम्पादकीय सामग्रीको गोपनीयता पूर्ण रूपमा सुरक्षित गर्न सरकारसँग माग गरेको छ।
यसैबीच, महासंघका अध्यक्ष निर्मला शर्माको नेतृत्वमा शुक्रबार एक टोलीले जनआस्था साप्ताहिकको कार्यालय निरीक्षण गरेको छ। टोलीले नियन्त्रणमा लिइएका सञ्चार सामग्री तथा त्यसबाट पत्रिकाको प्रकाशनमा परेको प्रभावबारे जानकारी लिएको महासंघले जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्