रुपन्देही । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पश्चिम नवलपरासीको जिल्ला अध्यक्ष पदका लागि चार जनाले उम्मेदवारी दिएका छन्। अन्य सदस्य पदमा भने सहमति जुटेको छ।
राप्रपाको दोस्रो जिल्ला अधिवेशनअन्तर्गत निर्वाचन कार्यतालिकाअनुसार प्रकाशित अन्तिम नामावलीमा देवी घिमिरे, सन्तोष पाण्डे, रामभवन यादव र रामजीबाबु पराजुलीले अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन्।
निर्वाचन संयोजक सुधीर पाण्डेका अनुसार अधिवेशनमा २ सय ४७ जना प्रतिनिधि सहभागी हुँदैछन्। अध्यक्ष पदमा सहमति हुन नसकेपछि निर्वाचनमार्फत नेतृत्व चयन गरिने भएको हो।
चार वर्षे कार्यकाल रहने जिल्ला समिति ३१ सदस्यीय हुनेछ।
२४ सदस्य निर्वाचित हुने
निर्वाचन प्रक्रियाबाट अध्यक्षसहित २४ जना सदस्य चयन हुनेछन्। बाँकी सात जना सदस्य जिल्ला समितिले मनोनीत गर्ने व्यवस्था छ।
त्यसपछि निर्वाचित तथा मनोनीत सदस्यबाट एक महिलासहित तीन उपाध्यक्ष, एक सचिव, एक कोषाध्यक्ष, दुई सहसचिव र एक प्रवक्ता मनोनीत गरिने प्रावधान रहेको निर्वाचन संयोजक पाण्डेले जानकारी दिए।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्