काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले विशेष महाधिवेशनका नाममा पार्टीको विधि, विधान र स्थापित पद्धति कमजोर बनाउने काम भएको आरोप लगाएका छन्। उनले पार्टीभित्रको विवादले कांग्रेस मात्र नभई मुलुकको राष्ट्रिय एकतामाथि समेत असर पार्न सक्ने भन्दै भावनात्मक एकता र मेलमिलापका लागि सबै पक्षलाई आग्रह गरेका छन्।
कांग्रेसको इतर पक्षले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले विशेष महाधिवेशनसँग सम्बन्धित विवाद अहिले सर्वोच्च अदालतमा पुनरावलोकनको प्रक्रियामा रहेकाले आफूले त्यसबारे धेरै टिप्पणी नगर्ने बताए। तर, अदालतबाट आफूहरूले न्याय पाउनेमा भने आफू पूर्ण विश्वस्त रहेको उनको भनाइ छ।
“लामो इतिहास बोकेको नेपाली कांग्रेसमा अहिले चरम विवादको अवस्था छ। विशेष महाधिवेशनका नाममा पार्टीलाई कमजोर बनाउने गरी विधि, विधान, पद्धति मिच्ने काम भएको छ,” देउवाले भने, “यो विषय अहिले सम्मानित सर्वोच्च अदालतमा पुनरावलोकन भइरहेको छ। सर्वोच्चबाट हामीलाई न्याय मिल्नेमा म पूर्ण विश्वस्त छु।”
विवादभन्दा माथि उठेर एकताको आह्वान
देउवाले कांग्रेसभित्र देखिएको विवादलाई व्यक्तिगत प्रतिस्पर्धाभन्दा माथि उठेर समाधान गर्नुपर्ने बताए। पार्टीभित्र असहमति र मतभेद हुनु स्वाभाविक भए पनि त्यसको समाधान सबै पक्षको सम्मान हुने गरी खोजिनुपर्ने उनको धारणा छ।
उनले कांग्रेसका नेता–कार्यकर्ता एउटै राजनीतिक परिवारका सदस्य भएको उल्लेख गर्दै आग्रह र पूर्वाग्रह त्याग्न आग्रह गरे।
“असहमतिका विषयमा सबै साथीहरूलाई न्याय हुने र सबैको भावना कदर हुने गरी बृहत्तर एकता कायम हुनुपर्छ। कोही पनि व्यक्तिकेन्द्रित हुनु हुँदैन। हामी एउटै परिवारका सदस्य हौं। आग्रह–पूर्वाग्रहबाट माथि उठौँ,” उनले भने।
उनका अनुसार कांग्रेसको लामो इतिहासमा यसअघि पनि गम्भीर आन्तरिक विवाद उत्पन्न भएका थिए। तर, संवाद, सहमति र सहकार्यबाट त्यस्ता विवाद समाधान हुँदै आएको उनले स्मरण गरे।
‘कांग्रेस कमजोर हुँदा राष्ट्रियता पनि कमजोर हुन्छ’
देउवाले पार्टीभित्रको गहिरिँदो विवादलाई केवल संगठनात्मक विषयका रूपमा मात्र नहेर्न आग्रह गरे। कांग्रेसमा विवाद बढ्दा मुलुकको राष्ट्रियता नै कमजोर हुन सक्ने जोखिम रहेको उनले बताए।
लोकतान्त्रिक आन्दोलनमा लामो भूमिका खेलेको कांग्रेस मुलुकको राजनीतिक स्थायित्व र राष्ट्रिय एकतासँग जोडिएको भन्दै उनले अहिलेको अवस्थामा पार्टीभित्र सहमति र मेलमिलाप अझ आवश्यक रहेको बताए।
उनको अभिव्यक्तिले कांग्रेसभित्रको शक्ति संघर्षलाई नेतृत्वको विवादभन्दा व्यापक रूपमा पार्टीको संस्थागत भविष्य, लोकतान्त्रिक पद्धति र राष्ट्रिय राजनीतिक स्थायित्वसँग जोडेर प्रस्तुत गर्ने प्रयास गरेको देखिन्छ।
सर्वोच्चको फैसलातर्फ सबैको नजर
विशेष महाधिवेशनबाट बनेको नयाँ नेतृत्व र १४औँ महाधिवेशनबाट निर्वाचित पुरानो संरचनाबीचको विवाद पछिल्लो समय कानुनी मोर्चामा समेत पुगेको छ। निर्वाचन आयोगको निर्णय र विशेष महाधिवेशनको वैधानिकतासँग जोडिएको विषय सर्वोच्च अदालतमा पुगेपछि कांग्रेसको आगामी राजनीतिक दिशा अदालतको निर्णयसँग समेत जोडिएको छ।
देउवाले अदालतमा विचाराधीन विषयमा थप टिप्पणी नगर्ने बताए पनि सर्वोच्चबाट न्याय पाउने विश्वास व्यक्त गर्नुले संस्थापन पक्षले आफ्नो राजनीतिक तथा कानुनी दाबीलाई अझै कायम राखेको संकेत गरेको छ।
‘मुलुकका लागि आवश्यक पर्दा जुनसुकै भूमिका निर्वाह गर्न तयार छु’
देउवाले आफू तत्काल कुनै निश्चित पद वा जिम्मेवारीको दाबीमा नरहेको संकेत गर्दै मुलुकलाई आवश्यकता परेको अवस्थामा जुनसुकै भूमिका निर्वाह गर्न आफू तयार रहेको बताए।
उनको यो अभिव्यक्तिलाई कांग्रेसभित्रको जारी शक्ति संघर्षका बीच आफूलाई राजनीतिक रूपमा सक्रिय र उपलब्ध विकल्पका रूपमा कायम राख्ने सन्देशका रूपमा समेत हेर्न सकिन्छ।
पार्टीभित्र विशेष महाधिवेशनपछि दुई धार स्पष्ट रूपमा देखिएको अवस्थामा देउवाको एकता, विधि–पद्धति र सर्वोच्च अदालतबाट न्यायको अपेक्षासम्बन्धी अभिव्यक्तिले कांग्रेसको विवाद तत्काल समाधानभन्दा पनि आगामी राजनीतिक र कानुनी प्रक्रियासँगै अघि बढ्ने संकेत गरेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्