काठमाडौं । दर्शनशास्त्रका प्राध्यापक, निर्वाचन आयोगका पूर्वआयुक्त तथा विश्लेषक प्रा.डा. वीरेन्द्रप्रसाद मिश्रको १८औँ पुस्तक ‘क्राइसिस अफ ट्रष्ट इन नेपाल–इन्डिया रिलेसन्स’ सार्वजनिक भएको छ।
‘अन्तरविधा’ले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पुस्तक सार्वजनिक गरिएको हो। कार्यक्रममा सोफिया थापाले पुस्तकबारे पाठकीय टिप्पणी राखेकी थिइन्।
थापाले पुस्तकमा नेपाल–भारत सम्बन्धका विभिन्न उतारचढावलाई प्रस्तुत गरिएको बताइन्। पुस्तकमा बीपी कोइराला र भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरूबीचको सम्बन्धबारे समेत चर्चा गरिएको उल्लेख गर्दै उनले कृतिमा आफूले राजनीतिको कथा भेटेको बताइन्।
गैरआख्यान विधामा लेखिएको भए पनि पुस्तकले पाठकलाई आख्यान पढेजस्तो अनुभूति गराउने उनको भनाइ थियो। पुस्तकले नेपाल–भारत सम्बन्धका विभिन्न पक्षबारे पाठकलाई महत्वपूर्ण जानकारी दिने उनले बताइन्।
कार्यक्रमका अर्का वक्ता बालकृष्ण दाहालले पुस्तकमा नेपाल–भारत सम्बन्धसँग जोडिएका गम्भीर विषयलाई समेटिएको बताए। उनले डा. मिश्रले नेपाल र भारतबीचको सम्बन्धका विषयमा मिहीन ढंगले विश्लेषण गरेको उल्लेख गरे।
पुस्तक लेखनबारे बोल्दै प्रा.डा. मिश्रले आफूले मनमा लागेका विषयलाई पुस्तकमार्फत प्रस्तुत गरेको बताए।
कार्यक्रममा ‘अन्तरविधा’का गणेश खनियाले प्रा.डा. मिश्रको योगदानबारे चर्चा गर्दै आयोजक संस्थाले गर्दै आएका विभिन्न गतिविधिबारे जानकारी गराएका थिए।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्