कास्की । पोखरास्थित विजयपुर खोलाले शनिबार दिउँसो दुई बालकलाई बगाएपछि उनीहरू बेपत्ता भएका छन् ।
पोखरा–१४ को विजयबस्तीबाट पोखरा–२६ को सक्नेरीतर्फ जाने क्रममा भगवती हाइड्रोपावर नजिकै अन्दाजी १४/१५ वर्षका दुई बालकलाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार १० जनाको समूह खोला तर्ने क्रममा आठ जना सकुशल पार भए पनि दुई जनालाई खोलाले बगाएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । बेपत्ता बालकहरूको नाम, थर र ठेगाना भने खुल्न सकेको छैन ।
घटनालगत्तै इलाका प्रहरी कार्यालय शिशुवा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट २१ जना प्रहरीको टोली खोजी तथा उद्धारमा परिचालन गरिएको छ ।
त्यस्तै, सशस्त्र प्रहरी बेसक्याम्प कुँडहरबाट नौ जना गोताखोरसहितको टोली पनि घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ ।
बेपत्ता बालकहरूको खोजी तथा उद्धार कार्य जारी रहेको र घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्