काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको कार्यशैली र नेतृत्वको अनुभवहीनताका कारण मुलुक बर्बादीतर्फ उन्मुख भएको आरोप लगाउनुभएको छ ।
शनिबार इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले नयाँ भनिएका राजनीतिक शक्तिमा शासन सञ्चालन गर्ने न्यूनतम दक्षता र अनुभवसमेत नभएको टिप्पणी गर्नुभयो ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)प्रति संकेत गर्दै उहाँले शासन सञ्चालन पनि सीप, ज्ञान र अनुभव आवश्यक पर्ने विषय भएको बताउनुभयो । खाना पकाउन नजान्ने बालबालिकालाई भान्साको जिम्मेवारी दिँदा जस्तो अवस्था आउँछ, अहिले सरकारको अवस्था त्यस्तै रहेको उहाँको भनाइ थियो ।
ओलीले अनुभव र क्षमता नभएका व्यक्तिलाई राज्य सञ्चालनको जिम्मेवारी दिँदा राष्ट्रिय राजनीति र प्रशासनमा बेथिति बढेको आरोप लगाउनुभयो । उहाँले संविधानको उल्लङ्घन भइरहेको दाबी गर्दै मुलुकलाई संवैधानिक बाटोमा फर्काउनुपर्नेमा जोड दिनुभयो ।
प्रतिनिधिसभा विघटनमाथि प्रश्न
पूर्वप्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर असंवैधानिक ढंगले चुनावको नाटक गरिएको आरोप लगाउनुभयो ।
प्रतिनिधिसभाको कार्यकाल बाँकी हुँदाहुँदै किन विघटन गरियो भन्दै उहाँले प्रश्न गर्नुभयो । समय हुँदाहुँदै संसद् विघटन गरेर अर्को संसद् किन आवश्यक पर्यो भन्ने विषयमा जनताले जवाफ खोज्नुपर्ने उहाँको भनाइ थियो । ओलीले संविधानको रक्षा र राजनीतिक व्यवस्थालाई सही बाटोमा फर्काउन आवश्यक रहेको बताउनुभयो ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्