काठमाडौँ, साउन ३१ गते । मुलुकमा उत्पादित विद्युत्को बजार विस्तारका लागि निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्नेमा ऊर्जा क्षेत्रका जानकारले जोड दिनुभएको छ ।
स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ नेपाल (इप्पान)ले ललितपुरमा आयोजना गरेको ‘नेपाल–भारत ऊर्जा व्यापारः निजी क्षेत्रका लागि अबको बाटो’ विषयक छलफलमा सहभागी विज्ञहरूले विद्युत् बजार विस्तारका लागि नयाँ कानुन आवश्यक नरहेको र विद्यमान विद्युत् ऐन, २०४९ कै आधारमा निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमतिपत्र दिन सकिने बताउनुभएको हो ।
उहाँहरूले एउटै निकायबाट मात्र ठूलो परिमाणमा विद्युत् व्यापार सम्भव नहुने भन्दै प्रतिस्पर्धात्मक विद्युत् बजार निर्माणका लागि निजी क्षेत्रको सहभागिता आवश्यक रहेको धारणा राख्नुभयो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले देशको अपार जलस्रोतलाई विद्युत् उत्पादनमा अधिकतम उपयोग गरी आर्थिक समृद्धिको आधार निर्माण गर्न सरकार क्रियाशील रहेको बताउनुभयो । निजी क्षेत्रसँग सहकार्य गरेर सरकार अघि बढ्न चाहेको उहाँको भनाइ थियो ।
मन्त्री श्रेष्ठका अनुसार गत आर्थिक वर्षमा विद्युत् निर्यातबाट नेपालले २९ अर्ब ३२ करोड रुपैयाँ आम्दानी गरेको थियो भने १८ अर्ब रुपैयाँभन्दा बढी खुद बचत भएको थियो । उहाँले पूर्वानुमानयोग्य नीति, सक्षम नियमन, निजी क्षेत्रको सहभागिता र प्रभावकारी ऊर्जा कूटनीतिमार्फत नेपाललाई वर्षभरि विश्वसनीय विद्युत् निर्यातकर्ता बनाउने लक्ष्य रहेको बताउनुभयो ।
पूर्वऊर्जा सचिव अनुपकुमार उपाध्यायले निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमतिपत्र दिने सम्बन्धमा विगतमा कानुन तर्जुमा भए पनि सरकार परिवर्तनका कारण निर्णय हुन नसकेको जानकारी दिनुभयो ।
नेपाल विद्युत् प्राधिकरणका पूर्वउपकार्यकारी निर्देशक प्रबल अधिकारीले विद्यमान विद्युत् ऐनमा उत्पादित विद्युत् बिक्री तथा आयातसम्बन्धी व्यवस्था रहेकाले सोही आधारमा निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमतिपत्र दिन सकिने बताउनुभयो ।
विद्युत् नियमन आयोगका अध्यक्ष रामप्रसाद धितालले उत्पादित विद्युत्का लागि ग्राहक खोज्न सक्ने प्रावधानसहितको खुला पहुँचसम्बन्धी निर्देशिका जारी गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।
इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेशले ऊर्जा क्षेत्रमा नयाँ अवसर सिर्जना गर्ने बताउनुभयो । इप्पानका पूर्वउपाध्यक्ष आशिष गर्गले निजी क्षेत्र विद्युत् खरिद–बिक्रीका लागि तयार रहेको धारणा राख्नुभयो ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्