काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पछिल्लो तीन दिनमा आफ्नो राजनीतिक जीवनमै नभएको स्तरको आलोचना र निन्दा खेप्नुपरेको बताएका छन्।
काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै थापाले कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय सम्मेलनमा आफूविरुद्ध भएका टिप्पणीप्रति संकेत गर्दै यस्तो बताएका हुन्।
“चुनदेवी कांग्रेसका बारेमा पत्रकारहरूले बाहिर नसोध्नुहोला, म भोलि सबैलाई सानेपा बोलाएर भन्नेछु,” थापाले भने, “मेरो जीवनभर नभएको निन्दा यो तीन दिनमा भएको छ। कसले कति निन्दा गरेको छ, यो जीवनमा नभएको निन्दा तीन दिनमा आयो।”
थापाको यो भनाइ कांग्रेसभित्र पछिल्लो समय चर्किएको आन्तरिक विवादको पृष्ठभूमिमा आएको हो। संस्थापन इतर समूहले काठमाडौंमा तीन दिनसम्म आयोजना गरेको राष्ट्रिय भेलामा पार्टीको नेतृत्व, विशेष महाधिवेशन, वैधानिकता, संगठन सञ्चालन तथा आगामी महाधिवेशनलगायत विषयमा व्यापक छलफल भएको थियो।
भेलामा प्रस्तुत विभिन्न राजनीतिक तथा नीतिगत प्रतिवेदनमा वर्तमान कांग्रेस नेतृत्व र पार्टी सञ्चालनको शैलीप्रति असन्तुष्टि व्यक्त गरिएको थियो। केही नेताहरूले नेतृत्व हस्तान्तरण, पार्टी पुनर्गठन तथा संस्थागत सुधारको आवश्यकता औँल्याउँदै थापाको नेतृत्वमाथि समेत प्रश्न उठाएका थिए।
विशेष महाधिवेशनमार्फत गगन थापा सभापति बनेको विषयलाई लिएर कांग्रेसभित्र दुई धार स्पष्ट रूपमा देखिएका छन्। थापा पक्षले विशेष महाधिवेशन विधिसम्मत भएको र त्यसबाट निर्वाचित नेतृत्व वैधानिक रहेको दाबी गर्दै आएको छ भने संस्थापन इतर समूहले विशेष महाधिवेशनको प्रक्रिया र त्यसबाट बनेको नेतृत्वलाई अस्वीकार गर्दै आएको छ।
यही विवादका बीच इतर समूहले आफ्नो राष्ट्रिय भेलालाई अन्ततः ‘राष्ट्रिय सम्मेलन’ मा परिणत गरेको थियो। सम्मेलनबाट शेरबहादुर देउवाकै नेतृत्वमा १५औँ महाधिवेशन गर्ने प्रस्तावसमेत पारित भएको छ।
कांग्रेसभित्रको विवाद अब केवल नेतृत्वको व्यक्तिगत प्रतिस्पर्धामा सीमित नरही पार्टीको वैधानिकता, महाधिवेशन प्रक्रिया र भावी राजनीतिक दिशासँग जोडिएको देखिएको छ। थापाको पछिल्लो अभिव्यक्तिले पनि पछिल्ला दिनमा पार्टीभित्र उनको नेतृत्वमाथि उठेका प्रश्न र आलोचनाले उनलाई गम्भीर रूपमा प्रभावित गरेको संकेत गरेको छ।
थापाले आफूविरुद्ध भएका टिप्पणीबारे तत्काल विस्तृत प्रतिक्रिया नदिए पनि पत्रकारहरूलाई अर्को दिन सानेपामा बोलाएर यसबारे स्पष्ट रूपमा धारणा सार्वजनिक गर्ने संकेत गरेका छन्। यसले कांग्रेसभित्रको विवाद अझै सतहमै रहेको र आगामी दिनमा नेतृत्वबीच आरोप–प्रत्यारोप थप तीव्र हुन सक्ने देखिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्