काठमाडौं । नेपाली कांग्रेसको राष्ट्रिय सम्मेलनले पाँचबुँदे प्रस्ताव पारित गरेको छ। आइतबार सम्पन्न सम्मेलनबाट पारित प्रस्तावमा पार्टीको १५औँ महाधिवेशन पूर्वसभापति शेरबहादुर देउवाकै नेतृत्वमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरिएको नेता प्रकाशशरण महतले जानकारी दिएका छन्।
सम्मेलनबाट पारित प्रस्तावमा ‘शेरबहादुर देउवाकै सभापतित्वमा १५औँ महाधिवेशन सम्पन्न हुने र उहाँकै नेतृत्वमा पार्टी एकताबद्ध भई १५औँ महाधिवेशन सम्भव हुने दृढ विश्वास’ व्यक्त गरिएको छ।
सम्मेलनले मुलुकको वर्तमान राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य र एकताको आवश्यकतामा जोड दिएको छ। मुलुक संकटको अवस्थामा रहेको निष्कर्ष निकाल्दै कांग्रेसले राष्ट्रियता र लोकतन्त्रको सुदृढीकरणका लागि लोकतन्त्रवादी शक्तिहरूसँग मिलेर अघि बढ्ने प्रतिबद्धता जनाएको छ।
प्रस्तावमा कांग्रेसले लोकतान्त्रिक मूल्य, मान्यता र व्यवस्थाप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै मुलुकको राष्ट्रिय हित र राजनीतिक स्थायित्वका विषयमा सक्रिय भूमिका निर्वाह गर्ने उल्लेख गरिएको छ।
त्यस्तै, सम्मेलनले सनातन धर्मलाई नेपालको राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने विषयमा पनि प्रतिबद्धता जनाएको छ। संविधान संशोधनका विषयमा भने जनअपेक्षा, राष्ट्रिय आवश्यकता र राजनीतिक सहमतिलाई ध्यानमा राख्दै सम्बन्धित सबै पक्षसँग संवाद गरेर निकास खोज्ने प्रस्ताव पारित गरिएको छ।
राष्ट्रिय सम्मेलनले साउन ३० र ३१ गते भएका छलफल, प्रस्तुत प्रस्ताव तथा सहभागीबाट प्राप्त सुझावलाई समेटेर विस्तृत लिखित प्रस्ताव तयार गर्ने जिम्मेवारी नेता एनपी साउद नेतृत्वको समितिलाई दिएको छ।
समितिमा उमाकान्त चौधरी, सीता राना, मीनबहादुर विश्वकर्मा र दीपक कुइकेल सदस्य रहेका छन्। समितिले सम्मेलनमा उठेका विषय र सुझावलाई समेटेर अन्तिम लिखित दस्तावेज तयार गर्नेछ।
सम्मेलनको निर्णयसँगै कांग्रेसभित्र जारी नेतृत्व, वैधानिकता, महाधिवेशन र पार्टी एकतासम्बन्धी विवाद थप राजनीतिक बहसको केन्द्रमा रहने देखिएको छ। विशेषगरी १५औँ महाधिवेशन देउवाकै नेतृत्वमा गर्ने प्रस्ताव पारित हुनुलाई संस्थापन इतर पक्षले पार्टीको भावी नेतृत्व र महाधिवेशन प्रक्रियाबारे आफ्नो राजनीतिक धारणा औपचारिक रूपमा अघि सारेको रूपमा हेरिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्