दमक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेता–कार्यकर्तालाई व्यक्तिगत स्वार्थ र पदको आकांक्षाभन्दा माथि उठेर देश तथा जनताको हितमा समर्पित भएर काम गर्न आह्वान गर्नुभएको छ।
झापाको बिर्तामोडमा आइतबार आयोजित ‘मिसन पार्टी जागरण अभियान–२०८३’ उद्घाटन गर्दै ओलीले आफू प्रधानमन्त्री वा पार्टी अध्यक्ष बन्ने उद्देश्यले राजनीतिमा नआएको बताउनुभयो। राजनीति व्यक्तिगत लाभका लागि नभई देश निर्माण र राष्ट्रिय हितका लागि हुनुपर्ने उहाँको भनाइ थियो।
“देश बनाउन हिँडेका हौँ। देशका लागि काम गर्न लागेका छौँ। देश बनाउन हामी हिँड्नुपर्छ,” ओलीले भन्नुभयो।
उहाँले राजनीतिमा लाग्नेहरूले आफूले के प्राप्त गर्ने भन्नेभन्दा देश र जनतालाई आफूले के दिन सकिन्छ भन्ने सोच राख्नुपर्ने बताउनुभयो। पद, प्रतिष्ठा र व्यक्तिगत लाभलाई राजनीतिको उद्देश्य बनाउँदा राजनीतिक संस्कार कमजोर हुने उहाँको भनाइ थियो।
“प्रधानमन्त्री बनौँला, पार्टी अध्यक्ष बनौँला भनेर म हिँडेको थिइनँ र छैन,” ओलीले भन्नुभयो, “राष्ट्रिय हितको भारी बोकेर हिँडेका हौँ। पाउला र खाउँला भन्ने सोच हामीमा रहनु हुँदैन।”
ओलीले राजनीतिलाई व्यक्तिगत स्वार्थ पूरा गर्ने माध्यम बनाउन नहुने बताउँदै आदर्श, राष्ट्रिय हित र जनसेवालाई राजनीतिको आधार बनाउन नेता–कार्यकर्तालाई आग्रह गर्नुभयो।
“देश र जनताका लागि मैले के दिन सकेँ भन्नेतर्फ लाग्नुपर्छ। स्वार्थका लागि नभई आदर्शका लागि अघि बढौँ,” उहाँले भन्नुभयो।
जस्तोसुकै राजनीतिक परिस्थिति आए पनि नेता–कार्यकर्ताले देश र जनताको हितलाई प्राथमिकतामा राख्नुपर्ने ओलीको भनाइ थियो। उहाँले पार्टीका गतिविधि पनि राष्ट्रिय आवश्यकता र जनताको अपेक्षाअनुसार सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो।
नेतृत्व पुनर्गठनको चर्चाप्रति ओलीको असन्तुष्टि
एमालेभित्र पछिल्लो समय उठिरहेको पार्टी पुनर्गठन तथा नेतृत्व परिवर्तनसम्बन्धी बहसप्रति पनि ओलीले असन्तुष्टि व्यक्त गर्नुभयो। उहाँले पार्टी पुनर्गठन र नेतृत्व हटाउने विषयमा विभिन्न किसिमका चर्चा तथा हल्ला चलाइएको भन्दै त्यसको औचित्य नरहेको दाबी गर्नुभयो।
“पार्टी पुनर्गठन र नेतृत्व हटाउन बेतुकको हल्ला हो। यो सम्भव र आवश्यक छैन,” ओलीले भन्नुभयो।
उनले विगतमा कम्युनिस्ट आन्दोलन तथा पार्टी पुनर्गठनका केही घटना भए पनि ती विशिष्ट राजनीतिक परिस्थितिमा भएका दाबी गर्नुभयो। अहिले त्यस्तै अवस्था नरहेको र पार्टी पुनर्गठनको आवश्यकता नभएको उहाँको भनाइ थियो।
ओलीले पार्टीभित्र देखिएका असन्तुष्टि तथा बहसलाई संगठनको आन्तरिक प्रक्रियाबाट सम्बोधन गर्नुपर्ने संकेत गर्दै नेता–कार्यकर्तालाई संगठनलाई थप मजबुत बनाउन आग्रह गर्नुभयो।
एमालेले संगठनलाई थप सक्रिय बनाउने तथा नेता–कार्यकर्तामा राजनीतिक जागरण अभिवृद्धि गर्ने उद्देश्यसहित ‘मिसन पार्टी जागरण अभियान–२०८३’ सञ्चालन गरेको हो।
झापाको बिर्तामोडबाट सुरु गरिएको अभियानमा एमालेका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो। एमाले झापा अध्यक्ष प्रेम गिरीका अनुसार अभियानमार्फत पार्टी संगठनलाई थप व्यवस्थित, सक्रिय र प्रभावकारी बनाउने तथा कार्यकर्तालाई राजनीतिक रूपमा जागरूक बनाउने उद्देश्य राखिएको छ।
अभियान उद्घाटनका क्रममा ओलीले पार्टीका नेता–कार्यकर्तालाई संगठन सुदृढीकरणसँगै राष्ट्रिय राजनीतिक परिस्थितिलाई गम्भीर रूपमा बुझेर अघि बढ्न आग्रह गर्नुभयो। उहाँले पार्टीभित्रको राजनीति पद प्राप्तिको प्रतिस्पर्धाभन्दा देश निर्माणको उद्देश्यमा केन्द्रित हुनुपर्ने सन्देश दिनुभयो।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्