मुक्तिनाथ (मुस्ताङ) । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ छोसेरका ६४ वर्षीय मिग्मा गुरुङले पुस्तौँदेखि आफ्नो समुदायको पहिचान बनेको परम्परागत ‘मुन्डे घर’ भत्काउनुपर्यो। काँचो माटोको इँट्टा र स्थानीय प्रविधिबाट निर्माण गरिएको घरको छाना पछिल्ला वर्षमा बढेको वर्षा र बेमौसमी हिमपातका कारण जीर्ण भएपछि उहाँले पुरानो घर हटाएर स्थानीय काठ प्रयोग गरी नयाँ पक्की घर बनाउनुभएको हो।
गुरुङको जस्तै समस्या वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ समरका आसबहादुर गुरुङले पनि भोग्नुभयो। लगातारको वर्षाका कारण माटोबाट बनेको ‘मुन्डे घर’को छत भिजेर चुहिन थालेपछि उहाँले घरलाई आवासका रूपमा प्रयोग गर्न छाडेर पशुचौपाया राख्ने गोठ बनाउनुभएको छ।
एक दशकअघिसम्म मुस्ताङका अधिकांश बस्तीमा बाक्लै देखिने यस्ता परम्परागत घरहरू अहिले क्रमशः हराउँदै गएका छन्। विशेषगरी नियमित वर्षा, बेमौसमी हिमपात र मौसममा आएको परिवर्तनले काँचो माटोबाट बनेका घरलाई क्षति पुर्याउन थालेपछि स्थानीयवासी आधुनिक आरसीसी तथा कङ्क्रिटका घरतर्फ आकर्षित हुन थालेका छन्।
सडक सञ्जाल बस्ती–बस्तीमा विस्तार भएपछि निर्माण सामग्री ढुवानी सहज हुनु पनि परम्परागत घर विस्थापित हुनुको एउटा कारण बनेको स्थानीयको भनाइ छ। पहिले स्थानीय माटो, काठ र परम्परागत सीपबाट घर निर्माण गरिन्थ्यो। अहिले सिमेन्ट, रड र अन्य आधुनिक निर्माण सामग्री सहज रूपमा उपलब्ध हुन थालेपछि नयाँ पुस्ताको रोजाइ पनि बदलिएको छ।
लो–घेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङ बजारका अधिकांश पुराना मुन्डे घर विस्थापित भइसकेको वडा अध्यक्ष टैधुन्टु ठकुरीले बताउनुभयो। उहाँका अनुसार स्थानीय प्रविधिबाट बनाइएका यस्ता घर केवल बसोबास गर्ने संरचना मात्र नभई मुस्ताङको सांस्कृतिक पहिचानसँग जोडिएका छन्।
“स्थानीय प्रविधिको प्रयोग गरी निर्मित घरमाथि राखिएको दाउरा मुस्ताङवासीको पहिचान हो,” उहाँले भन्नुभयो, “तर अहिले मौसमी परिवर्तनका कारण घर भत्काएर नयाँ बनाउनुपर्ने बाध्यता छ।”
जलवायु परिवर्तनले बढायो जोखिम
उपल्लो मुस्ताङमा पछिल्ला वर्षहरूमा मौसमको स्वरूपमा परिवर्तन देखिएको स्थानीयको अनुभव छ। विगतमा अत्यधिक चिसो र हिमपातका लागि परिचित उपल्लो मुस्ताङमा अहिले कतिपय समयमा हिमपातभन्दा वर्षा बढी हुने गरेको छ। वर्षाको पानी काँचो माटोका पर्खाल र छान
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्