काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफूहरूको सहमतिबिना जबरजस्ती विशेष महाधिवेशन गरेर धेरै नेता–कार्यकर्तालाई अन्यायपूर्ण रूपमा बाहिर राखिएको आरोप लगाएका छन् ।
आइतबार कांग्रेसको संस्थापनइतर पक्षले काठमाडौंमा आयोजना गरेको राष्ट्रिय भेला समापन समारोहमा बोल्दै पूर्वप्रधानमन्त्री देउवाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा अदालतको पूर्ण निर्णय स्वीकार गर्ने बताए ।
‘मैले विशेष महाधिवेशन गर्न मानेको थिइनँ । पार्टीका सबैको सहमतिमा विशेष महाधिवेशन गरौँ, यसरी नगरौँ भनेको थिएँ । जबरजस्ती तरिकाले विशेष महाधिवेशन गरेर अन्यायपूर्ण तरिकाले धेरै साथीलाई बाहिर राखियो,’ देउवाले भने, ‘त्यसको खिलाफमा हामी अदालत गयौँ ।’
अदालतको पूर्ण निर्णय आउन बाँकी रहेको उल्लेख गर्दै देउवाले आफूले न्याय पाउने विश्वास व्यक्त गरे ।
‘अहिले अदालतको पूर्ण निर्णय आउन बाँकी छ । त्यसअघि अदालतको विषयमा धेरै बोल्न चाहन्नँ । तर मलाई विश्वास छ, मैले न्याय पाउँछु,’ उनले भने ।
देउवाले विगतमा पनि न्यायालयले आफूलाई न्याय दिएको दाबी गरे । उनले आफूलाई तत्कालीन राजाले थुन्दा पनि सर्वोच्च अदालतले शाही आयोग खारेज गरेको स्मरण गरे ।
‘म व्यक्तिगत रूपमा हिन्दु हुँ’
सनातन हिन्दु राष्ट्रका विषयमा एक कार्यकर्ताले लिखित रूपमा धारणा राख्न आग्रह गरेपछि देउवाले आफू व्यक्तिगत रूपमा हिन्दु भएको बताए ।
‘म व्यक्तिगत रूपमा हिन्दु हुँ । व्रतबन्ध गरेको हो, हिन्दु परम्पराअनुसार विवाह गरेको हो । पशुपति जान्छु, पूजा गर्छु,’ उनले भने, ‘के हुने–नहुने भन्ने जनताको कुरा हो । धार्मिक स्वतन्त्रता हुनुपर्छ ।’
उनले हिन्दु र बौद्ध धर्मलाई विज्ञान तथा प्रकृतिले समेत स्वीकार गरेको बताए ।
देउवाले आफूलाई भेट्न तथा सद्भाव व्यक्त गर्न विमानस्थलदेखि भेलास्थलसम्म पुगेका समर्थक तथा शुभेच्छुकलाई कहिल्यै नबिर्सने बताए ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्