काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू हिन्दु धर्म मान्ने व्यक्ति भएको स्पष्ट पारेका छन् । आइतबार काठमाडौंमा आयोजित कांग्रेसको संस्थापन इतर पक्षको राष्ट्रिय भेला समापन समारोहमा बोल्दै देउवाले आफ्नो विवाह र व्रतबन्ध हिन्दु परम्पराअनुसार भएको बताएका हुन् ।
देउवाले आफूलाई हिन्दु होइन भन्न नमिल्ने बताए । उनले आफू मन्दिर जाने र पशुपतिनाथको पूजा गर्ने गरेको उल्लेख गर्दै आफू हिन्दु भएको दोहोर्याए ।
‘मेरो व्रतबन्ध र विवाह पनि हिन्दु परम्पराअनुसार भएको हो । म मन्दिर जान्छु, पशुपतिनाथको पूजा गर्छु । त्यसैले म हिन्दु हुँ,’ देउवाले भने, ‘मैले हिन्दु धर्म मान्छु भन्न पाउनुपर्छ र पाउँछु । आफ्नो धर्मका बारेमा बोल्न म स्वतन्त्र छु ।’
आफू हिन्दु भएको बताउनुको अर्थ अन्य धर्ममाथि प्रतिबन्ध लगाउनुपर्छ भन्ने नभएको देउवाले स्पष्ट पारे । उनले मुस्लिम, इसाईलगायत सबै धर्म मान्ने समुदायको सम्मान गर्दै आएको र मुलुकमा पूर्ण धार्मिक स्वतन्त्रता हुनुपर्ने बताए ।
‘मैले हिन्दु धर्म मान्छु भन्दै गर्दा मुस्लिम वा इसाई धर्म मान्न पाइन्न भनेको छैन,’ देउवाले भने, ‘सबै धर्म मान्नेहरूलाई मैले अहिलेसम्म सम्मान गरेको छु र गरिरहनेछु । मुलुकमा पूर्ण धार्मिक स्वतन्त्रता हुनुपर्छ भन्नेमा म विश्वास राख्छु ।’
कार्यकर्ताको आग्रहपछि धारणा सार्वजनिक
एक कार्यकर्ताले ‘सनातन हिन्दु राष्ट्र’का विषयमा धारणा राख्न आग्रह गरेपछि देउवाले आफ्नो धार्मिक विश्वासबारे स्पष्ट पारेका हुन् ।
उनले आफू सानैदेखि हिन्दु संस्कारमा हुर्किएको र व्यक्तिगत रूपमा त्यसलाई पालना गर्दै आएको बताए । ‘आफूले के धर्म मान्ने भन्नेमा प्रत्येक व्यक्ति स्वतन्त्र हुन्छन् र मेरो हकमा पनि त्यही लागू हुन्छ,’ उनले भने ।
देउवाले हिन्दु र बौद्ध धर्मलाई विज्ञान तथा प्रकृतिले समेत स्वीकार गरेको दाबी गरे । साथै, विमानस्थलदेखि सम्मेलनस्थलसम्म आएर आफूलाई सद्भाव व्यक्त गर्नेहरूप्रति आभार व्यक्त गर्दै त्यस्तो सद्भाव आफूले कहिल्यै नबिर्सने बताए ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्