काठमाडौं । काठमाडौं उपत्यकासहित देशका प्रमुख सहरमा सरकारले तोकेका बिक्री केन्द्र र उद्योगबाट एलपी ग्यास बिक्री सुरु गरे पनि निजी डिपोमा भने अभाव कायमै रहेको छ। उद्योगलाई अग्रिम रकम बुझाएका डिपो सञ्चालकहरूले समेत पर्याप्त ग्यास नपाउँदा उपभोक्ता नाम टिपाएर खाली हात फर्किन बाध्य भएका छन्।
ललितपुरकी डिपो सञ्चालक अनिता भट्टराईका अनुसार अभाव सुरु हुनुअघि उनको डिपोबाट साप्ताहिक करिब १४० सिलिन्डर ग्यास बिक्री हुने गरेको थियो। तर, पछिल्लो एक महिनादेखि ग्यास नआएपछि दैनिक उपभोक्ता ग्यास खोज्दै आएर नाम टिपाएर फर्किने गरेका छन्। उनका अनुसार अढाई सयभन्दा बढी उपभोक्ता ग्यासको प्रतीक्षामा छन्। आफूले उद्योगलाई ३५० सिलिन्डरको अग्रिम भुक्तानी गरे पनि ग्यास नपाएको उनको गुनासो छ।
धोबीघाटस्थित अर्को डिपोमा पनि तीन सयभन्दा बढी उपभोक्ताले नाम टिपाएका छन्। डिपो सञ्चालक नवीन मगरले उद्योग वा सरकारले आफैँ खुद्रा बिक्री गर्नुभन्दा डिपोमा ग्यास उपलब्ध गराई प्रहरीको निगरानीमा प्रतीक्षा सूचीअनुसार वितरण गर्नुपर्ने सुझाव दिएका छन्। उनका अनुसार ‘पहिलो आउनेलाई पहिलो प्राथमिकता’का आधारमा वितरण गर्दा उपभोक्ताको समस्या कम गर्न सकिन्छ।
डिपो सञ्चालकहरूले उद्योगहरूले आफूलाई ग्यास नदिएर आफैँ खुद्रा बिक्री गरिरहेको आरोप लगाएका छन्। उद्योगले भने विगतमा आधा सिलिन्डर ग्यास बिक्री गर्दा ढुवानीमा घाटा भएको र त्यसको परिपूरणका लागि आफैँ बिक्री गर्नुपरेको जवाफ दिने गरेको उनीहरूको भनाइ छ।
यसैबीच, नेपाल आयल निगमले काठमाडौं उपत्यकामा शनिबार विभिन्न पाँच स्थानबाट ६ हजार ८०२ सिलिन्डर एलपी ग्यास बिक्री गरिएको जनाएको छ। अत्यावश्यक उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचयपत्रसहित बिहान १० देखि साँझ ६ बजेसम्म तोकिएका बिक्री केन्द्रबाट ग्यास लिन सक्ने निगमले जनाएको छ। निगमका अनुसार ग्यास आयात नियमित भइरहेको छ र व्यवसायीलाई उपभोक्तालाई नियमित रूपमा ग्यास बिक्री गर्न आग्रह गरिएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार साउन २० गतेयता ग्याससम्बन्धी तीन हजार ४४४ गुनासा प्राप्त भएका छन्। साउन १ देखि २९ गतेसम्म दुई हजार ७८१ ग्यास बुलेट आयात भएको र पछिल्लो समय दैनिक एक सयभन्दा बढी बुलेट ग्यास भारतबाट आइरहेको मन्त्रालयको दाबी छ। यसअघि दैनिक औसत एक लाख १० हजार सिलिन्डर बजारमा पठाइने गरेकोमा पछिल्ला २८ दिनमा औसत एक लाख ३२ हजार सिलिन्डर पठाइएको मन्त्रालयले जनाएको छ।
मन्त्री गौरीकुमारी यादवले माग र आपूर्तिबीच सन्तुलन कायम गर्न सरकारबाट आवश्यक समन्वय भइरहेको बताएकी छन्। हाल मासिक ४९ हजार ५०० मेट्रिक टन ग्यास आपूर्ति भइरहेको र तीन महिनाका लागि मासिक ६० हजार मेट्रिक टन आपूर्ति सुनिश्चित गर्न भारत सरकारसँग आग्रह गरिएको मन्त्रालयले जनाएको छ। यता, ग्यास बिक्रेता महासंघ नेपालले भने वितरण सहज बनाउन सरकार गम्भीर नभएको आरोप लगाउँदै समस्या समाधानमा प्रभावकारी कदम चाल्न माग गरेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्