काठमाडौं । भारतीय सेनाका प्रमुख जनरल धिरज सेठ चारदिने औपचारिक भ्रमणका क्रममा आइतबार काठमाडौं आइपुगेका छन्। प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा उनी नेपाल आएका हुन्।
नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार भारतीय सेना प्रमुखको भ्रमणका मुख्य दुई उद्देश्य छन्। पहिलो, नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न ग्रहण गर्नु र दोस्रो, नेपाल–भारतबीचको सैन्य सम्बन्धलाई थप सुदृढ बनाउनु हो।
सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय सेना प्रमुख सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ।
त्यसैगरी सोमबार नै सैनिक मुख्यालय जंगी अड्डामा प्रधानसेनापति सिग्देल र भारतीय सेना प्रमुख सेठबीच द्विपक्षीय भेटवार्ता हुनेछ। भेटवार्तामा नेपाल–भारत सैन्य सहकार्य तथा आपसी हितका विषयमा छलफल हुने बताइएको छ।
भारतीय सेना प्रमुख सेठको बुधबार स्वदेश फर्किने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्