मुस्ताङ । मुस्ताङको एकमात्र २५ शय्याको प्रदेश अस्पताल, जोमसोममा रहेको एम्बुलेन्स १५ वर्ष पुरानो भएपछि गम्भीर बिरामीलाई उपचारका लागि अन्यत्र लैजान समस्या भएको छ । जीर्ण अवस्थामा रहेको एम्बुलेन्स पटक–पटक बिग्रिने भएकाले बिरामी ओसारपसारमै कठिनाइ हुने गरेको अस्पतालले जनाएको छ ।
अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. समीक्षा कँडेलका अनुसार एम्बुलेन्स बिग्रिरहने भएकाले अस्पतालभित्र बिरामी स्थानान्तरण गर्नसमेत समस्या हुने गरेको छ । “अस्पतालसँग एउटा एम्बुलेन्स भए पनि यो नाम मात्रकै छ,” उनले भनिन् ।
दुर्घटना, प्राकृतिक विपद् तथा अन्य गम्भीर स्वास्थ्य समस्याका बिरामीलाई पोखरा लगायतका सुगम स्थानमा रेफर गर्नुपर्ने अवस्थामा भरपर्दो एम्बुलेन्स नहुँदा समस्या थप जटिल हुने गरेको उनको भनाइ छ ।
डा. कँडेलका अनुसार नयाँ एम्बुलेन्स उपलब्ध गराउन प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयको आपूर्ति शाखासँग दुई वर्षदेखि पटक–पटक माग गरिएको छ । तर, अहिलेसम्म नयाँ एम्बुलेन्स उपलब्ध हुन सकेको छैन ।
स्थानीय तहका एम्बुलेन्स पनि थन्किए
अस्पताल नजिकै रहेको घरपझोङ गाउँपालिकाको एम्बुलेन्ससमेत बिग्रिएर थन्किएको छ । गाउँपालिकाका स्वास्थ्य संयोजक कर्णबहादुर थकालीले गाउँपालिकासँग एउटा एम्बुलेन्स भए पनि हाल सञ्चालनमा नरहेको बताए ।
मुस्ताङका पाँच स्थानीय तहमध्ये चार स्थानीय तहमा आठवटा एम्बुलेन्स रहे पनि आधाजति मात्रै सञ्चालनमा छन् । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा भने एउटा पनि एम्बुलेन्स छैन ।
उपल्लो मुस्ताङका लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका एम्बुलेन्स भने नियमित सञ्चालनमा रहेको जनाइएको छ ।
समयमै अस्पताल पुर्याउन चुनौती
एम्बुलेन्सको अभाव र भएका एम्बुलेन्ससमेत बिग्रिँदा तत्काल उपचार आवश्यक पर्ने बिरामीलाई समयमै अस्पताल पुर्याउन कठिन भएको स्थानीयवासीको गुनासो छ । विशेषगरी भौगोलिक रूपमा विकट मुस्ताङमा गम्भीर बिरामीलाई पोखरा वा अन्य सुगम स्थानमा लैजानुपर्दा भरपर्दो एम्बुलेन्स अत्यावश्यक रहेको स्थानीयको भनाइ छ ।
स्थानीय तह र प्रदेश सरकारले बिरामीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै जीर्ण एम्बुलेन्स विस्थापन गरी तत्काल नयाँ एम्बुलेन्सको व्यवस्था गर्नुपर्ने माग गरिएको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्