काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले सनातन धर्मलाई नेपालको राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने नीति पारित गरेको छ।
साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा सम्पन्न राष्ट्रिय सम्मेलनले धार्मिक नीतिमा परिवर्तन गर्दै सनातन धर्म तथा संस्कृतिको संरक्षण र धार्मिक स्वतन्त्रतालाई सँगसँगै अघि बढाउने निर्णय गरेको हो।
सम्मेलनबाट पारित प्रस्तावमा नेपालमा परम्परादेखि चलिआएका हिन्दु, बौद्ध, किरात र प्राकृत धर्मको संरक्षण गर्दै सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ।
प्रस्तावमा सबै व्यक्ति तथा धार्मिक समुदायलाई आफ्नो धर्म मान्ने स्वतन्त्रता सुनिश्चित गरिने उल्लेख छ।
सम्मेलनमा पारित प्रस्तावलाई अन्तिम रूप दिन नेता एनपी साउदको संयोजकत्वमा समिति गठन गरिएको छ। नेता साउदले सनातन हिन्दु, बौद्ध, किरातलगायत धर्मको संरक्षण गर्दै अन्य धर्म मान्ने नागरिकको धार्मिक स्वतन्त्रता सुनिश्चित गर्ने नीति रहेको बताउनुभएको छ।
उहाँले आफूहरू धर्म निरपेक्षताको विपक्षमा रहेकोसमेत स्पष्ट पार्नुभएको छ। सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने विषयलाई कांग्रेसको नयाँ राजनीतिक धारका रूपमा बुझ्न सकिने उहाँको भनाइ छ।
कांग्रेस नेता डा. प्रकाशशरण महतले पनि सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने निर्णयमा सभापति शेरबहादुर देउवासहित प्रतिनिधिहरूको सहमति रहेको बताउनुभएको छ।
उहाँका अनुसार हिन्दु, बौद्ध, किरात तथा प्राकृत धर्मको संरक्षण गर्दै मुस्लिम, इसाईलगायत सबै धर्मावलम्बीको धार्मिक अधिकार सुनिश्चित गरिनेछ।
यसैबीच, पूर्वसभापति शेरबहादुर देउवाले आफू व्यक्तिगत रूपमा हिन्दु भएको बताउँदै सबै धर्मप्रति सम्मान र धार्मिक स्वतन्त्रताको पक्षमा आफू रहेको स्पष्ट पार्नुभएको छ।
उहाँले आफू हिन्दु संस्कारमा हुर्किएको र हिन्दु परम्पराअनुसार व्रतबन्ध तथा विवाह गरेको उल्लेख गर्दै अन्य धर्म मान्ने अधिकार कसैबाट खोस्न नहुने बताउनुभएको छ।
सम्मेलनले वर्तमान संविधानमा जनअपेक्षाअनुसार आवश्यक संशोधन गर्न सम्बन्धित पक्षसँग संवाद गर्ने निर्णयसमेत गरेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्