म्याग्दी, भदौ १ गते । वर्षायाम सुरु भएसँगै म्याग्दीको बेनी–दरबाङ सडकखण्डअन्तर्गत फापरखेत क्षेत्रका स्थानीयवासी पहिरोको त्रासमा बस्न बाध्य छन्। सामान्य वर्षा हुँदा समेत पहिरो खस्ने र सडक अवरुद्ध हुने समस्याले यात्रु तथा स्थानीयले वर्षौंदेखि सास्ती खेप्दै आएका छन्।
म्याग्दी सदरमुकाम बेनीलाई पश्चिमी क्षेत्रसँग जोड्ने बेनी–दरबाङ–ताकम–मुना–जलजला सडकको फापरखेत क्षेत्रमा विगत २७ वर्षदेखि पहिरोको समस्या दोहोरिँदै आएको हो। पहिरोका कारण यातायात सेवा अवरुद्ध हुँदा यात्रु बीच बाटोमै अलपत्र पर्ने गरेका छन्। डोजर लगाएर पहिरो हटाई सडक सञ्चालनमा ल्याइए पनि जोखिम मोलेर सवारी चलाउनुपर्ने अवस्था छ।
मंगला, मालिका र धवलागिरि गाउँपालिकासहित जलजला, ढोरपाटन हुँदै रुकुमसम्म जोडिने यो सडक पश्चिम म्याग्दीको महत्वपूर्ण यातायात मार्ग हो। जिल्लाको ठूलो भूभागलाई सदरमुकामसँग जोड्ने भएकाले स्थानीयले यसलाई म्याग्दीको ‘लाइफलाइन’का रूपमा लिने गरेका छन्।
तत्कालीन जिल्ला विकास समितिले २०५६ मंसिरमा २० लाख रुपैयाँ तथा पश्चिम क्षेत्रका तत्कालीन २० गाविसबाट एक–एक लाख रुपैयाँ संकलन गरी २४ किलोमिटर लामो बेनी–दरबाङ सडक निर्माण गरेको थियो। सडकको ट्र्याक खुलेदेखि नै फापरखेतमा पहिरोको समस्या देखिँदै आएको हो।
करिब १५० मिटर क्षेत्रमा फैलिएको पहिरो क्षेत्र निरन्तर खस्कने जोखिममा रहेकाले सामान्य वर्षामा समेत सडक अवरुद्ध हुने गरेको छ। पहिरो नियन्त्रणका लागि विभिन्न समयमा प्रयास भए पनि दीर्घकालीन समाधान हुन सकेको छैन।
वर्षायाममा सडक अवरुद्ध हुँदा बिरामी, सुत्केरी तथा गर्भवती महिलालाई समयमै अस्पताल पुर्याउन समेत समस्या हुने गरेको मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए। केही महिनाअघि यही सडकखण्डमा मालवाहक ट्रक दुर्घटनामा परी म्याग्दी नदीमा खसेको थियो।
फापरखेत पहिरो नियन्त्रणका लागि संघीय सरकारले चालु आर्थिक वर्षमा चार करोड रुपैयाँ विनियोजन गरेको छ। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री डा. महावीर पुनले पहिरो क्षेत्रमा सुरक्षात्मक संरचना निर्माण गरी सडकलाई सुरक्षित बनाउने योजना रहेको बताएका छन्।
यता, गण्डकी प्रदेश सरकारले पहिरो क्षेत्रलाई छलेर वैकल्पिक मार्ग निर्माण गर्ने योजना अघि बढाएको छ। म्याग्दी नदीमाथि मोटरेबल पुल निर्माण गरी जोखिमयुक्त क्षेत्रलाई बाइपास गर्ने तयारी गरिएको हो।
पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख डा. महेन्द्र बानियाँका अनुसार फापरखेत पहिरो पूर्ण रूपमा नियन्त्रण गर्न कठिन देखिएकाले वैकल्पिक मार्ग निर्माण गर्नु उपयुक्त विकल्प हो। पखेर र सिमलचौरबीच म्याग्दी नदीमाथि मोटरेबल पुल निर्माण गर्न सके पहिरो क्षेत्रलाई छलेर सुरक्षित सडक सञ्चालन गर्न सकिने उनको भनाइ छ।
प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ मा मंगला गाउँपालिका–३ पखेर र वडा नं. २ सिमलचौर जोड्ने मोटरेबल पुलका लागि दुई करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। यसअघि संघीय सरकारले बेलिब्रिज उपलब्ध गराउने सहमति गरे पनि योजना कार्यान्वयन हुन नसक्दा प्रदेशले छुट्याएको एक करोड रुपैयाँ बजेट फिर्ता भएको थियो।
हाल प्राविधिक अध्ययनका आधारमा ‘डिजाइन एन्ड बिल्ड’ मोडेलमा पक्की मोटरेबल पुल निर्माणको तयारी भइरहेको बानियाँले बताए।
तत्कालका लागि भने वर्षायाममा सडक सञ्चालनमा राख्न पहिरो हटाउने डोजर तयारी अवस्थामा राखिएको छ। “बेनी–दरबाङ सडकको सबैभन्दा ठूलो समस्या यही पहिरो हो। पहिरो खस्नासाथ हटाएर सडक सञ्चालनमा ल्याउने व्यवस्था गरेका छौँ,” बानियाँले भने।
स्थानीयवासीले भने हरेक वर्ष डोजर लगाएर पहिरो हटाउने अस्थायी उपायभन्दा दीर्घकालीन, वैज्ञानिक र भरपर्दो समाधान खोज्न सरकारसँग माग गरेका छन्। २७ वर्षदेखि दोहोरिँदै आएको फापरखेत पहिरोको स्थायी समाधान नहुँदासम्म पश्चिम म्याग्दीको सुरक्षित यातायात सुनिश्चित गर्न कठिन हुने उनीहरूको भनाइ छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्