काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदलाई प्रतिनिधिसभा बैठकमा नियमित उपस्थित हुन कडाइ गरेको छ। बैठकमा हाजिर गरेर सांसदहरू बाहिरिने र आवश्यक गणपूरक संख्या नपुग्दा विधेयक अघि बढ्न नसकेको अवस्थापछि रास्वपाले यस्तो व्यवस्था गरेको हो।
रास्वपाका मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीका अनुसार अब सांसदले संसद् बैठकमा उपस्थित हुन नसक्ने भए कारण खुलाउनुपर्नेछ। संसद् बैठकलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले पार्टीले आन्तरिक रूपमा यस्तो निर्णय गरेको उनले बताए।
सांसदहरू पूर्ण रूपमा बैठकमा उपस्थित हुन नसक्ने, ३० मिनेटभन्दा ढिलो पुग्ने, बैठक सुरु भएपछि बीचमै बाहिरिने वा बाहिर गएर पुनः बैठकमा फर्किने अवस्थामा अनिवार्य रूपमा ‘संसद् बैठक अनुपस्थित आवेदन फारम’ भर्नुपर्नेछ।
फारममा बैठकमा अनुपस्थित वा ढिलो हुनुको कारणसमेत स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ। पार्टीले सांसदहरूको संसद् उपस्थितिलाई प्राथमिकतामा राख्दै यस्तो व्यवस्था गरेको बुर्लाकोटीले बताए।
यसअघि रास्वपाका केही सांसद बैठकमा हाजिर गरेर बाहिरिँदा गणपूरक संख्या नपुगेका कारण संसद् बैठकमा विधेयक अघि बढाउन समस्या भएको थियो। त्यसपछि संसद् बैठकमा सांसदहरूको उपस्थिति प्रभावकारी बनाउन पार्टीले आन्तरिक निगरानी र अनुशासन कडाइ गर्ने निर्णय गरेको हो।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्