स्याङ्जा । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ स्याङ्जाले आर्थिक वर्ष २०८२/८३ मा कृषकलाई २ करोड ४३ लाख ६६ हजार रुपैयाँ अनुदान वितरण गरेको छ।
एकाइले सुन्तला तथा कफी सुपरजोन, आँप–लिची, मसलाबाली, अदुवा–बेसार र भैँसी जोनमा आबद्ध कृषकलाई विभिन्न कार्यक्रममार्फत उक्त अनुदान उपलब्ध गराएको हो।
एकाइका प्रमुख वरिष्ठ कृषि अधिकृत अजय अधिकारीका अनुसार अनुदानबाट ५८ सहकारी, ९० कृषक समूह, २८५ उद्यमी कृषक, चार कम्पनी, दुई प्राविधिक विद्यालय र पाँच हजारभन्दा बढी कृषक प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।
उन्नत प्रविधि विस्तार तथा खेती क्षेत्रफल वृद्धि गर्न ४९ लाख २७ हजार रुपैयाँ, कृषि उद्यमशीलता विकासमा ४३ लाख ७४ हजार र सिँचाइ पूर्वाधार निर्माणमा ४० लाख ५२ हजार रुपैयाँ अनुदान दिइएको छ।
त्यस्तै, कृषि यान्त्रीकरणमा २७ लाख ७० हजार, बगैँचा सुदृढीकरण तथा बाली संरक्षण सामग्रीमा २१ लाख ७५ हजार, भैँसी प्रवद्र्धन तथा मासु निर्यात कार्यक्रममा ११ लाख ९१ हजार, गोठ सुधारमा ९ लाख ३७ हजार र दाना बनाउने मेसिन खरिदमा ७ लाख १९ हजार रुपैयाँ अनुदान वितरण गरिएको अधिकारीले जानकारी दिए।
कृषि उपजको लेबलिङ तथा प्याकेजिङमा ७ लाख ९ हजार, नर्सरी स्रोत केन्द्र स्थापनामा ६ लाख २४ हजार, शिक्षालयसँग व्यावसायिक उत्पादन साझेदारीमा ४ लाख ८१ हजार र दूध प्रशोधन सामग्री खरिदमा १ लाख ५१ हजार रुपैयाँ अनुदान दिइएको छ।
कार्यालयले सुन्तला, आँप–लिची, कफी तथा अदुवा–बेसार गरी १ सय ४५ हेक्टर क्षेत्रफलमा खेती विस्तार गर्ने लक्ष्य राखेकोमा १ सय १५ हेक्टरमा खेती विस्तार गर्न सफल भएको जनाएको छ।
अनुदान कार्यक्रमले किसानलाई आधुनिक प्रविधि, उन्नत बीउबिजन, सिँचाइ उपकरण तथा आवश्यक कृषि सामग्री प्रयोग गर्न सहयोग पुगेको कार्यालयको भनाइ छ। यसबाट कृषि उत्पादन र व्यावसायिक खेती विस्तारमा सकारात्मक प्रभाव परेको बताइएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्