ताप्लेजुङ, साउन ३१ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले किसानलाई करिब साढे चार लाख अलैँचीका बिरुवा वितरण गरेको छ। गाउँपालिकाले वडा नम्बर ७ ओलाङ्चुङगोलाबाहेक वडा नम्बर १ देखि ६ सम्मका किसानलाई कुल ४ लाख ४४ हजार ९ सय अलैँचीका बिरुवावितरण गरेको हो।
‘एक वडा, एक उत्पादन’ कार्यक्रमअन्तर्गत किसानलाई अलैँची खेतीतर्फ प्रोत्साहित गर्ने उद्देश्यले बिरुवा वितरण गरिएको गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) ले जानकारी दिनुभयो। किसानलाई वितरण गरिएका बिरुवा इलामबाट ल्याइएको उहाँले बताउनुभयो।
गाउँपालिकाका अनुसार वितरण गरिएका बिरुवामध्ये भर्लाङ जातका ३ लाख १७ हजार ६ सय, रामसाई जातका ८६ हजार ६ सय र डम्बरसाई जातका ४० हजार ७ सय बिरुवा छन्।
वडा नम्बर १ सावादिनका किसानलाई भर्लाङ जातका २० हजार बिरुवा वितरण गरिएको छ। वडा नम्बर २ खेजेनिममा भर्लाङका ५८ हजार १ सय र डम्बरसाईका ३० हजार १ सय बिरुवा वितरण गरिएको गाउँपालिकाले जनाएको छ।
त्यस्तै, वडा नम्बर ३ लिङ्खिममा भर्लाङका ३० हजार ८ सय र डम्बरसाईका ४ हजार ८ सय बिरुवा वितरण गरिएको छ। वडा नम्बर ४ इखाबुमा भर्लाङका ७४ हजार, रामसाईका २४ हजार र डम्बरसाईका ४ हजार १ सय बिरुवा किसानलाई दिइएको छ।
वडा नम्बर ५ तापेथोकमा भर्लाङका ६९ हजार २ सय, रामसाईका ३३ हजार ६ सय र डम्बरसाईका ४ सय बिरुवा वितरण गरिएको छ। वडा नम्बर ६ लेलेपमा भर्लाङका ६५ हजार ५ सय, रामसाईका २९ हजार र डम्बरसाईका १ हजार ३ सय बिरुवा वितरण गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले वडा नम्बर ७ ओलाङ्चुङगोलामा भने अलैँची खेती सम्भव नभएकाले फरक कृषि कार्यक्रम सञ्चालन गरेको जनाएको छ। हिमाली भूभागमा पर्ने ओलाङ्चुङगोलामा याक–चौँरी पालन प्रवर्द्धन तथा छुर्पी उत्पादन कार्यक्रममार्फत किसानलाई सहयोग गरिएको अध्यक्ष लिम्बूले बताउनुभयो।
किसानलाई सहयोग गर्न गत आर्थिक वर्षमा प्रदेश सरकारबाट प्राप्त ५० लाख रुपैयाँ तथा गाउँपालिकाले प्रत्येक वडालाई उपलब्ध गराएको ७ लाख रुपैयाँका दरको बजेट प्रयोग गरिएको जनाइएको छ।
गाउँपालिकाले आफ्नो बजेटबाट प्राप्त हुने ७ लाख रुपैयाँका लागि सम्बन्धित वडाले पालिकाबाट विनियोजित कुल बजेटको कम्तीमा १० प्रतिशत रकम कृषि योजनामा छुट्याउनुपर्ने व्यवस्था गरेको थियो।
ताप्लेजुङ नेपालमा सबैभन्दा बढी अलैँची उत्पादन हुने जिल्लामध्ये प्रमुख हो। जिल्लाका अधिकांश किसानको आयआर्जनको महत्वपूर्ण आधार अलैँची खेती रहेकाले उत्पादन विस्तार, गुणस्तरीय बिरुवा र आधुनिक खेती प्रविधिको प्रयोगले स्थानीय किसानको आम्दानी बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्