काठमाडौं । भारतको राजस्थानस्थित किशनगढमा सङ्गमरमर प्रशोधनबाट निस्किएको सेतो फोहोरको थुप्रो अहिले पर्यटक, चलचित्र निर्माता र सामाजिक सञ्जाल प्रयोगकर्ताका लागि आकर्षणको केन्द्र बनेको छ।
फोहोर व्यवस्थापनका लागि प्रयोग हुँदै आएको यो क्षेत्र सेतो ढिस्काले ढाकिँदा हिउँले ढाकिएको उपत्यकाजस्तै देखिन्छ। यही असामान्य भू–दृश्यका कारण किशनगढमा घुम्न आउनेको सङ्ख्या बढ्दै गएको छ।
उत्तरपश्चिमी भारतको प्रमुख सङ्गमरमर प्रशोधन केन्द्र किशनगढमा ८२ एकड अर्थात् करिब ३३ हेक्टर क्षेत्रफलमा फैलिएको यो फोहोर व्यवस्थापन स्थलमा दैनिक पाँच हजार ५०० टनभन्दा बढी सङ्गमरमरको घोल र ढुङ्गा जम्मा हुने गरेको छ।
किशनगढका एक हजार २०० भन्दा बढी प्रशोधन एकाइबाट सङ्गमरमर तथा ग्रेनाइट काट्ने र पालिस गर्ने क्रममा निस्किएको फोहोर यहाँ ल्याएर व्यवस्थापन गरिन्छ। यो एसियाकै ठूलो फोहोर व्यवस्थापन क्षेत्रमध्ये एक मानिन्छ।
औद्योगिक फोहोरको थुप्रो अहिले अप्रत्याशित पर्यटकीय गन्तव्यमा परिणत भएको छ। विवाहअघि खिचिने तस्बिरका लागि जोडीहरू सेता ढिस्काबीच पुग्ने गरेका छन् भने चलचित्र र सङ्गीत भिडियो निर्माणमा समेत यस क्षेत्रलाई पृष्ठभूमिका रूपमा प्रयोग गर्न थालिएको छ। पर्यटकहरू सेता ढिस्काबीच घोडा चढ्ने गरेका छन्।
सामाजिक सञ्जालले यसको लोकप्रियता थप बढाएको छ। आगन्तुकहरूले चम्किलो सेतो भू–दृश्यलाई हिउँले ढाकिएको हिमाली वा अल्पाइन क्षेत्रसँग तुलना गर्ने गरेका छन्। वर्षापछि फोहोरका ढिस्काबीचका होचा भागमा पानी जम्दा नीलो पोखरी बन्ने भएकाले यहाँको दृश्य अझ आकर्षक देखिन्छ।
तर पर्यटकीय आकर्षण बनेको यो क्षेत्र गम्भीर वातावरणीय जोखिमको केन्द्रसमेत हो। अधिकारीहरूले हावामा फैलिने धुलो र भूजल प्रदूषणको जोखिमबारे चेतावनी दिँदै आएका छन्। विभिन्न अध्ययनमा आसपासका पानीमा लवणता, कठोरता तथा केही भारी धातुको मात्रा उच्च रहेको पाइएको छ।
भारतको सर्वोच्च वातावरणीय न्यायिक निकायले जनवरीमा अनियन्त्रित रूपमा फोहोर थुपार्ने क्रम रोक्दै सङ्गमरमरको घोल पुनःप्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले सुधारात्मक उपाय लागू गर्न आदेश दिएको थियो।
न्यायाधिकरणले फोहोर व्यवस्थापन क्षेत्रमा भूजल चुहावट रोक्ने संरचना, पानी छुट्याउने कुवा, धुलो नियन्त्रण प्रणाली, हावा तथा भूजल निगरानी र सुरक्षात्मक हरित क्षेत्रको अभाव रहेको औंल्याएको थियो।
यसरी वातावरणीय जोखिमका बीच किशनगढको ‘सेतो भू–दृश्य’ सामाजिक सञ्जालमा भने चर्चित बनेको छ। औद्योगिक फोहोरबाट बनेको यो असामान्य दृश्यले फोहोर व्यवस्थापन, वातावरण संरक्षण र पर्यटनबीचको जटिल सम्बन्धलाई समेत उजागर गरेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्