समाचार
काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईंले सरकारसँग वार्ता गर्न ९ सदस्यीय वार्ता समिति गठन गरेका छन्।
प्रसाईंले मंगलबार सरकारलाई पठाएको पत्रमार्फत विष्णु बोहरा क्षेत्रीको नेतृत्वमा वार्ता टोली गठन गरिएको जानकारी गराएका हुन्। समितिमा राजु आचार्य, विजय थापा, देवी संग्रौला, हरदेव मतो, लीलदेव दनुवार, लाल शाह, रिकु मण्डल र नरेन्द्र लामा सदस्य छन्।
प्रसाईंले सरकारसँगको वार्ता राष्ट्रिय मानव अधिकार आयोगको रोहवरमा सञ्चालन गर्नुपर्ने प्रस्तावसमेत गरेका छन्।
यसअघि सरकारले पनि प्रसाईंसँग वार्ता गर्न सोमबार चार सदस्यीय वार्ता टोली गठन गरिसकेको थियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव लिलाधर सुवेदीको नेतृत्वमा गठित सरकारी टोलीमा गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले, अर्थ मन्त्रालयका सहसचिव महेश आचार्य तथा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव डिलाराम पन्थी सदस्य छन्।
दुवै पक्षले वार्ताका लागि आफ्ना प्रतिनिधि तोकेसँगै सरकार र प्रसाईं पक्षबीच औपचारिक संवादको बाटो खुलेको छ। प्रसाईं पक्षले मानव अधिकार आयोगको सहयोग र रोहवरमा वार्ता गर्न प्रस्ताव गरेपछि अब वार्ताको मिति र कार्यविधिबारे थप छलफल हुने देखिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्