काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको नौ वर्ष पूरा गरेको अवसरमा सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गरेको छ। कम्पनीले भदौ १ गते नवौं वार्षिकोत्सव मनाउँदै रक्तदान, वृक्षारोपण, खाद्यान्न वितरण तथा बीमा सचेतनालगायतका कार्यक्रम सञ्चालन गरेको जनाएको छ।
कम्पनीका अनुसार वार्षिकोत्सवलाई औपचारिक उत्सवमा मात्र सीमित नगरी समाजका विभिन्न वर्ग र समुदायलाई प्रत्यक्ष लाभ पुग्ने गतिविधिसँग जोडिएको हो। केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ भने देशभर रहेका शाखा कार्यालयमार्फत पनि विभिन्न सामाजिक कार्यक्रम सञ्चालन भइरहेका छन्।
कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रमले समुदायमा प्रत्यक्ष सहयोग पुर्याउनुका साथै जीवन बीमाको महत्वबारे जनचेतना विस्तार गर्ने उद्देश्य राखेको बताए।
उनका अनुसार रक्तदानले अस्पतालमा हुने रगतको अभाव न्यूनीकरणमा सहयोग पुर्याउने, वृक्षारोपणले वातावरण संरक्षणमा योगदान गर्ने तथा खाद्यान्न वितरणले आर्थिक रूपमा विपन्न परिवारलाई राहत दिने अपेक्षा गरिएको छ।
राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य
वार्षिकोत्सवकै अवसरमा आइएमई लाइफले राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य सम्झौता (एमओयू) समेत गरेको छ। सम्झौताले प्रविधि, स्वास्थ्य र सामाजिक उत्तरदायित्वका क्षेत्रमा दुई संस्थाबीच दीर्घकालीन सहकार्यको आधार तयार गरेको कम्पनीले जनाएको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन खड्काले सहकार्यले विशेषगरी नवजात शिशुको स्वास्थ्य क्षेत्रमा प्रविधिमैत्री समाधान पुर्याउने कम्पनीको प्रतिबद्धतालाई थप संस्थागत गरेको बताए।
एमओयूअनुसार राष्ट्रिय आविष्कार केन्द्रले स्वदेशमै अनुसन्धान तथा उत्पादन गरेको ‘न्यानो नानी’ (बेबी वार्मर) उपकरण आइएमई लाइफको आर्थिक सहयोगमा विभिन्न स्वास्थ्य संस्थामा वितरण गरिनेछ।
सुदूरपश्चिम र कर्णालीका स्वास्थ्य संस्थालाई १० बेबी वार्मर
सहकार्यको पहिलो चरणमा सुदूरपश्चिम र कर्णाली प्रदेशका स्वास्थ्य संस्थालाई १० वटा ‘न्यानो नानी’ उपकरण उपलब्ध गराइने कम्पनीले जनाएको छ।
समयअघि जन्मिएका वा कम तौल भएका नवजात शिशुलाई शरीरको आवश्यक तापक्रम कायम राख्न बेबी वार्मर महत्वपूर्ण उपकरण मानिन्छ। विशेषगरी पर्याप्त स्वास्थ्य पूर्वाधार र उपकरणको पहुँच सीमित रहेका दुर्गम क्षेत्रमा यस्ता उपकरणको उपलब्धताले नवजात शिशुको उपचारमा सहयोग पुर्याउन सक्छ।
कम्पनीले भौगोलिक विकटता, सीमित स्वास्थ्य पूर्वाधार तथा स्वास्थ्य सेवामा पहुँचको कमी रहेका कर्णाली र सुदूरपश्चिमका दुर्गम क्षेत्रमा जन्मिने नवजात शिशुको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर पहिलो चरणमा यी दुई प्रदेशलाई प्राथमिकता दिएको जनाएको छ।
स्थानीय स्वास्थ्य संस्थामै जडान गरिने
आइएमई लाइफका अनुसार उपलब्ध गराइने बेबी वार्मर सम्बन्धित स्थानीय स्वास्थ्य संस्थामा आवश्यक स्थान र पूर्वाधारअनुसार जडान गरिनेछ।
यसबाट दुर्गम क्षेत्रमा नवजात शिशुको आकस्मिक उपचारमा सहयोग पुग्ने तथा आमा–शिशु स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्न योगदान पुग्ने कम्पनीको अपेक्षा छ।
सीईओ खड्काले यो कार्यक्रम कम्पनीको कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) नीतिअन्तर्गत अघि बढाइएको बताए। कम्पनीले यसअघि पनि स्वास्थ्य, शिक्षा तथा सामाजिक क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
अन्य प्रदेशमा पनि विस्तार गर्ने योजना
आइएमई लाइफले ‘न्यानो नानी’ कार्यक्रमलाई आगामी दिनमा देशका अन्य प्रदेश तथा जिल्लामा समेत विस्तार गर्ने योजना बनाएको छ।
कम्पनीका अनुसार जीवन बीमाको पहुँच विस्तारसँगै सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई पनि आफ्नो दीर्घकालीन व्यावसायिक रणनीतिको हिस्सा बनाइएको छ।
नौ वर्षको यात्रामा कम्पनीले सर्वसुलभ बीमा सेवा, दाबी भुक्तानीमा छिटोछरितोपन तथा ग्राहकको आवश्यकताअनुसारका बीमा समाधानमार्फत आफ्नो सेवा विस्तार गर्दै आएको दाबी गरेको छ।
देशभरको शाखा सञ्जाल र दक्ष जनशक्तिमार्फत गुणस्तरीय बीमा सेवा विस्तार गर्ने लक्ष्यसहित अघि बढिरहेको कम्पनीले जनाएको छ। वार्षिकोत्सवका अवसरमा गरिएको बेबी वार्मर सहयोगले भने कम्पनीको सामाजिक उत्तरदायित्वलाई बीमा क्षेत्रभन्दा बाहिर स्वास्थ्य, प्रविधि र दुर्गम समुदायको जीवनसँग प्रत्यक्ष जोड्ने प्रयासका रूपमा प्रस्तुत गरेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्