काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई अदालतमा मुद्दा हाल्न चुनौती दिएका छन्।
बिहीबार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद सुनारले आफूले यसअघि प्रहरी खरिद प्रक्रियामा उठाएको प्रश्नबाट पछि नहट्ने स्पष्ट पारे। उनले आफूले कसैको मानमर्दन नगरेको भन्दै त्यसो भएको लागे अदालत जान चुनौती दिएका हुन्।
सुनारले प्रहरी स्रोत–साधन खरिदमा भएको भनिएको अनियमितताबारे समितिले १५ दिनभित्र कागजात मागेको स्मरण गराउँदै त्यसको अवस्था के भयो भनेर प्रश्न गरे। उनले कागजात मागिएको अवधिमै प्रहरीले करोडौँ रुपैयाँका टेन्डर आह्वान गरेको भन्दै खरिद प्रक्रियामाथि थप प्रश्न उठाए।
‘हामीले १५ दिनभित्रमा प्रहरीको स्रोत–साधन खरिदमा भएका बदमासीका बारेमा डकुमेन्ट मागेका थियौँ, त्यो आयो कि आएन? फेरि यहीबीचमा प्रहरीले करोडौँको टेन्डर आह्वान गरेको छ,’ उनले भने।
सुनारले प्रहरी मुख्यालयमा निश्चित बिचौलियाको प्रभाव रहेको आरोपसमेत लगाए। ‘निश्चित बिचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेका छन्,’ उनले दाबी गरे।
यसअघि सार्वजनिक लेखा समितिको बैठकमा आईजीपी कार्कीविरुद्ध उजुरी परेको भन्दै त्यसबारे छानबिन गर्नुपर्ने धारणा सुनारले राखेका थिए। उनको अभिव्यक्तिपछि विवाद चर्किएको थियो। यही विषयमा आईजीपी कार्कीले गृहमन्त्री सुधन गुरुङ र सभामुख डोलप्रसाद अर्यालसँग समेत भेट गरेका थिए।
बिहीबारको बैठकमा सुनारले आफूले अघिल्लो बैठकमा उठाएको प्रश्नमा अडिग रहेको दोहोर्याए। ‘अस्ति गरेको प्रश्नमा म अडिग छु, मजबुत छु,’ उनले भने।
आफूले कसैको मानमर्दन नगरेको स्पष्ट पार्दै उनले कसैलाई आफ्नो अभिव्यक्तिले मानमर्दन भएको लागे अदालतमा गएर मुद्दा हाल्नसमेत चुनौती दिए।
‘कहीँ कतै कोही साथीहरूलाई मेरो मानमर्दन भयो भन्ने लाग्छ भने यहाँ उतापट्टि अदालत छ, गएर मुद्दा हाल्नुहोला,’ उनले भने, ‘कठघरामा उभिएर जवाफ दिनलाई म तयार छु।’
सांसद सुनारले संसदीय समितिमा आएर सांसदसँग व्यक्तिगत रूपमा जुहारी खेल्न नहुने पनि बताए। सार्वभौम संसदीय समितिमा विषयगत प्रश्नको जवाफ दिनुपर्ने उनको भनाइ थियो।
‘एउटा सार्वभौम समितिमा आएर टोपी भुईँमा राखेर जुहारी खेल्न पाइँदैन, सरकारको मानमर्दन गर्न पाइँदैन,’ उनले भने।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्