मकवानपुर । हेटौँडा उपमहानगरपालिका–१९ मा वासुदेव खहरे खोलामा आएको भेलले चार बालिकालाई बगाउँदा दुई जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन्। एक बालिका भने सकुशल उद्धार भएकी छन्।
मङ्गलबार साँझ निर्मल माध्यमिक विद्यालय बस्तीपुरबाट घर फर्किने क्रममा उनीहरू खोला तर्दै गर्दा अचानक आएको भेलले बगाएको हो।
घटनामा हेटौँडा–१९ डाँडागाउँकी १३ वर्षीया सीमा भोलनले झाडी समातेर ज्यान जोगाएकी छन्। उनका अनुसार चारै जना हात समातेर खोला तर्दै गर्दा अचानक आएको भेलले पहिले आठ वर्षीया रोशनी स्याङ्तानलाई बगाएको थियो। त्यसपछि ११ वर्षीया सुमित्रा भोलन र सीमा पनि भेलमा परेका थिए।
सीमाले केही दूरीसम्म भेलसँग संघर्ष गरेर खोलाकिनारको झाडी समात्न सफल भएकी थिइन्। सामान्य चोट लागेपछि उनको हेटौँडा अस्पतालमा उपचार गरिएको प्रहरीले जनाएको छ।
रोशनीको शव भेटियो, सुमित्राको खोजी जारी
घटनालगत्तै प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासी खोजी तथा उद्धारमा परिचालन भएका थिए। खोजीका क्रममा आठ वर्षीया रोशनी स्याङ्तानको शव घटनास्थलभन्दा करिब ६ सय मिटर तल रुखको जरामा अड्किएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
बेपत्ता ११ वर्षीया सुमित्रा भोलनको खोजी भने जारी छ। सुरक्षाकर्मी र स्थानीयवासीले वासुदेव खोलाको तल्लो क्षेत्रमा खोजी गरिरहेका छन्।
खोजी तथा उद्धारका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर, इलाका प्रहरी कार्यालय नेवारपानी, बागमती प्रदेश विपद् व्यवस्थापन गुल्म, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीयवासी परिचालन भएका छन्।
वर्षायाममा बढ्दो जोखिम
मकवानपुरमा यस आर्थिक वर्षमा खोलाले बगाएर तथा पानीमा डुबेर मृत्यु हुनेको संख्या चार पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। यसअघि पनि कर्रा खोला र चिरुवा खोल्सीलगायत क्षेत्रमा डुबेर तथा भेलले बगाएर मानवीय क्षति भएको थियो।
लगातारको वर्षाका कारण खोला, खहरे, खोल्सा तथा पानी जमेको स्थानमा जोखिम बढेकाले प्रहरीले वर्षायाममा विशेष सावधानी अपनाउन आग्रह गरेको छ।
Originally published on abcnews.com.np.

















प्रतिक्रिया दिनुहोस्