काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आगामी १५औँ महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट दर्ता गर्ने भएको छ।
कांग्रेस नेता मीन विश्वकर्माका अनुसार निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले छुट्टाछुट्टै रिट दायर गर्ने तयारी गरेका छन्।
कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। संस्थापन इतर पक्षले उक्त कार्यतालिका कार्यान्वयन रोक्न माग गर्दै सर्वोच्च अदालत जाने तयारी गरेको हो।
कांग्रेसको अधिकारिता विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको पूर्ण इजलासले पुनः सुनुवाइ गर्ने आदेश दिइसकेको छ। उक्त मुद्दाको टुंगो नलाग्दासम्म महाधिवेशन प्रक्रिया अघि नबढाउन माग गर्दै रिट दर्ता गर्न लागिएको कांग्रेस नेताहरूले बताएका छन्।
खड्काले पनि छुट्टै रिट हाल्ने
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पनि छुट्टै रिट दायर गर्ने भएका छन्। महाधिवेशन प्रक्रियामा देखिएका त्रुटि र कानुनी प्रश्नलाई आधार बनाएर अदालतबाट तत्काल अन्तरिम आदेश माग गर्ने तयारी गरिएको बताइएको छ।
संस्थापन इतर पक्षले महाधिवेशनको प्रक्रिया अघि बढाउँदा अधिकारिता विवादसम्बन्धी मुद्दाको न्यायिक निरूपण प्रभावित हुन सक्ने दाबी गर्दै प्रक्रिया रोक्न अदालतसमक्ष माग गर्ने तयारी गरेको हो।
Originally published on abcnews.com.np.

















प्रतिक्रिया दिनुहोस्