काठमाडौं । डा. धवलशम्शेर राणाको सभापतित्वमा नवगठित ‘जय नेपाल पार्टी’ले आफ्नो राजनीतिक मार्गचित्र तथा प्राथमिकता सार्वजनिक गरेको छ।
निर्वाचन आयोगमा गत साउन २९ गते दर्ता भएपछि बसेको पार्टीको पहिलो केन्द्रीय कार्यसमिति बैठकका निर्णय सार्वजनिक गर्दै पार्टीले ‘सनातन धर्म, संवैधानिक राजसंस्था र प्रजातन्त्र’लाई आफ्नो मुख्य राजनीतिक लक्ष्य बनाएको जनाएको छ।
पार्टीले नेपाललाई हिन्दू, बौद्ध र किराँतसहितको सनातन अधिराज्यका रूपमा पुनःस्थापना गर्ने संकल्प गरेको छ। राष्ट्रिय एकता र राष्ट्र रक्षकको भूमिकामा रहने गरी संवैधानिक राजसंस्थाको आवश्यकता रहेको पनि पार्टीले जनाएको छ।
बहुदलीय प्रजातान्त्रिक अभ्यास, विधिको शासन र सुशासनमार्फत आर्थिक समुन्नति हासिल गर्ने पार्टीको उद्देश्य रहेको दस्ताबेजमा उल्लेख छ।
जय नेपाल पार्टीले देशको सर्वाङ्गीण विकासका लागि १२ बुँदे प्राथमिकता अघि सारेको छ। पार्टीको चुनाव चिह्न ‘त्रिकोण’ले हिमाल, पहाड र तराईबीचको एकता, स्थिरता र समुन्नतिको प्रतिनिधित्व गर्ने जनाएको छ।
पार्टीले वर्तमान राजनीतिमा बढ्दै गएको स्वार्थकेन्द्रित प्रवृत्ति र राष्ट्रवादी विचारमाथिको अविश्वासलाई चिर्न आफूहरूसँग गोलबद्ध हुन आह्वान गरेको छ।
स्थानीय निर्वाचनमा सशक्त उपस्थिति
जय नेपाल पार्टीले आगामी स्थानीय निर्वाचनमा सशक्त उपस्थिति जनाउने तयारी गरेको जनाएको छ। त्यसका लागि ७७ वटै जिल्लामा संगठन निर्माण तथा विस्तारको प्रक्रियालाई तीव्रता दिइने पार्टीले जनाएको छ।
संवैधानिक राजसंस्था र धर्ममा विश्वास राख्ने, भ्रष्टाचारमुक्त समाज तथा सुशासन चाहने नेपालीलाई पार्टीमा आबद्ध हुन र आगामी निर्वाचनमा उम्मेदवार बन्नसमेत पार्टीले आह्वान गरेको छ।
पहिलो केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति डा. धवलशम्शेर राणाले नयाँ पार्टी र नयाँ भूमिकाका साथ आफूहरूले ठूलो जिम्मेवारी लिएको बताए।
‘समयको गति र नियतिले हामीलाई एकसाथ उभ्याइदिएको छ। नयाँ पार्टी र नयाँ भूमिकाका साथ हामीले ठूलो अभिभारा काँधमा लिएका छौँ। हामी जे भन्छौँ, त्यही कुरा व्यवहारमा लागू गर्नेछौँ,’ राणाले भने।
Originally published on abcnews.com.np.

















प्रतिक्रिया दिनुहोस्