काठमाडौं । व्यवसायी रूप ज्योति समूहअन्तर्गतको कम्पनीले राष्ट्रिय वाणिज्य बैंकबाट लिएको ऋण चुक्ता नगरेपछि बैंकले ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ ।
राष्ट्रिय वाणिज्य बैंकले बिहीबार सूचना प्रकाशित गर्दै ज्योति ग्रुपअन्तर्गतको एनजिएम इन्जिनियरिङ एन्ड सेल्स प्रालिले लिएको कर्जाको सम्पूर्ण साँवा तथा ब्याज ३५ दिनभित्र चुक्ता गर्न आग्रह गरेको हो ।
उक्त कम्पनीले बैंकबाट चालू पुँजी कर्जा र ब्रिज ग्याप कर्जा लिएको थियो । कम्पनीका संस्थापकमा डा. रूप ज्योति, अभिक ज्योति र सुरुची ज्योति रहेका छन् । बैंकले उनीहरूलाई कर्जाको जमानीकर्ता तोकेको छ । त्यस्तै, उनीहरूद्वारा स्थापित उपष्ठान एन्ड कम्पनी प्रालि पनि उक्त कर्जाको जमानीमा रहेको बैंकको सूचनामा उल्लेख छ ।
तोकिएको ३५ दिनभित्र कर्जाको साँवा तथा ब्याज चुक्ता नगरे ऋणीलाई कालोसूचीमा समावेश गर्ने र धितो लिलामीको प्रक्रिया अघि बढाउने बैंकले जनाएको छ ।
१२० रोपनीभन्दा बढी जग्गा धितो
कर्जा लिनका लागि पर्साको वीरगञ्जस्थित चोर्नीमा रूप ज्योतिको नाममा रहेको जग्गा धितो राखिएको थियो । बैंकका अनुसार कित्ता नम्बर १३ मा रहेको ३३ हजार १७५ वर्गमिटर र कित्ता नम्बर १५ मा रहेको २८ हजार ९५ वर्गमिटर गरी कुल ६१ हजार २७० वर्गमिटर जग्गा धितोमा राखिएको छ ।
यो क्षेत्रफल करिब १२० रोपनी ७ आना बराबर हुन्छ । बैंकले उक्त धितोको न्यूनतम मूल्य ५७ करोड ९७ लाख २१ हजार रुपैयाँ निर्धारण गरेको छ ।
सूचना प्रकाशित भएको ३५ दिनभित्र ऋण चुक्ता नभए ३६औँ दिनदेखि ५०औँ दिनसम्म इच्छुक व्यक्तिले उक्त जग्गा सकार गर्न बोलपत्र पेस गर्न सक्नेछन् । बैंकले ५१औँ दिनमा बोलपत्र खोल्ने जनाएको छ ।
त्यस्तै, तोकिएको अवधिभित्र ऋण चुक्ता नभए ऋणी, प्रोप्राइटर तथा सञ्चालकहरूलाई नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार कालोसूचीमा समावेश गर्ने प्रक्रिया अघि बढाइने बैंकले स्पष्ट पारेको छ ।
यसअघि पनि ज्योति समूहका कम्पनीको लिलामी सूचना
ज्योति समूहअन्तर्गतका कम्पनीविरुद्ध यसअघि पनि बैंकले ऋण असुलीसम्बन्धी सूचना जारी गरिसकेको छ ।
गत वर्ष २०८२ साउनमा नेपाल बैंकले ज्योति समूहअन्तर्गतका ग्राण्डी सिटी क्लिनिक एन्ड हस्पिटल प्रालि, स्याकार कम्पनी प्रालि, जय स्पिनिङ मिल्स र नेपाल जनरल मार्केटिङ प्रालिको नाममा ३५ दिने सूचना प्रकाशित गरेको थियो ।
त्यतिबेला बैंकले रूप ज्योतिको नाममा काठमाडौं महानगरपालिका–३० मा रहेको कित्ता नम्बर २३०९ को २ हजार २५१.५७ वर्गमिटर क्षेत्रफलको घरजग्गा धितोमा रहेको जनाउँदै ऋण चुक्ता नभए लिलामी गर्ने चेतावनी दिएको थियो ।
ज्योति परिवारभित्रको व्यवसायिक विभाजनपछि समूह दुई धारमा बाँडिएको थियो । पद्म ज्योतिका सन्तानले छुट्टै पद्म ज्योति ग्रुप सञ्चालन गर्दै आएका छन् भने पुरानो ज्योति ग्रुपको व्यवसायिक विरासत रूप ज्योतिको समूहले अघि बढाएको छ । पारिवारिक विवाद अदालतसम्म पुगेको विषय पनि यसअघि सार्वजनिक भएको थियो ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्