काठमाडौं । कुवेतमा बन्धक बनाएर राखिएकी एक नेपाली महिलाको उद्धारपछि प्रहरीले मानव तस्करीमा संलग्न गिरोहको खोजी तीव्र बनाएको छ। अनुसन्धानका क्रममा प्रहरीले कुवेत पठाउन तयारी अवस्थामा राखिएका नौ नेपाली महिलाको समेत काठमाडौंको टोखाबाट उद्धार गरेको छ।
केही दिनअघि राष्ट्रिय अनुसन्धान विभागका एक अधिकारीलाई एक युवाले फोन गर्दै आफ्नी दिदी कुवेतमा बन्धक जीवन बिताइरहेको जानकारी गराएका थिए। उनले बन्धक बनाइएको स्थानको लोकेसनसमेत उपलब्ध गराएपछि विभागले उक्त सूचना प्रधानमन्त्री कार्यालयको टोलीलाई पुर्याएको थियो। सोही सूचनाका आधारमा सरकारले ती महिलाको उद्धार गरी साउन ३० गते नेपाल ल्याएको हो।
प्रहरीका अनुसार ती महिलालाई मानव तस्करीमा संलग्न समूहले सुरुमा भिजिट भिसामा ओमान पुर्याएको थियो। त्यसपछि घरेलु कामदारका रूपमा कुवेत पठाइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
एक महिला पक्राउ
उद्धार गरिएकी महिलासँग सोधपुछ गर्दा उनलाई विदेश पठाउने समूहबारे महत्वपूर्ण सूचना प्राप्त भएको प्रहरीले जनाएको छ। सोही आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अनुसन्धान अघि बढाएको थियो।
अनुसन्धानका क्रममा झापाकी ममता चापागाईं पक्राउ परेकी छन्। उनलाई थप अनुसन्धानका लागि मानव बेचबिखन अनुसन्धान ब्युरोमा पठाइएको कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले जानकारी दिए।
खड्काका अनुसार पक्राउ परेकी चापागाईंको संलग्नतामा अन्य नौ महिलालाई समेत कुवेत पठाउने तयारी भइरहेको खुलेको छ।
टोखाबाट नौ महिलाको उद्धार
प्रहरीले काठमाडौंको टोखास्थित एक घरमा सेल्टर बनाएर राखिएका नौ नेपाली महिलाको पनि उद्धार गरेको छ। उनीहरूलाई गिरोहले ओमान पठाउने भन्दै भदौ ५ गतेको टिकट देखाएर उक्त घरमा राखेको प्रहरीको भनाइ छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भदौ ३ गते राति उनीहरूको उद्धार गरेको हो। उद्धार गरिएका महिलालाई विदेश पठाउने तयारीमा संलग्न अन्य व्यक्तिहरूबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।
‘फ्री भिसा’को नाममा तस्करी
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार गिरोहले विभिन्न जिल्लाका आर्थिक रूपमा कमजोर तथा सामान्य लेखपढसमेत गर्न नसक्ने महिलालाई ‘फ्री भिसा’मा ओमान लैजाने प्रलोभन दिने गरेको पाइएको छ।
ओमान पुगेपछि उनीहरूलाई कुवेत पठाएर घरेलु कामदारका रूपमा काममा लगाउने गरिएको प्रहरीको भनाइ छ। कुवेत पुगेपछि नेपाली महिलालाई काममा लगाउने व्यक्तिहरूले मानव तस्करीमा संलग्न गिरोहलाई ठूलो रकम दिने गरेको समेत अनुसन्धानबाट खुलेको बताइएको छ।
प्रहरीका अनुसार श्रम स्वीकृतिबिना नेपाली महिलालाई घरेलु कामदारका रूपमा कुवेत पठाउने कार्यमा संलग्न गिरोहले आर्थिक प्रलोभनमा पारेर तस्करी गर्ने गरेको देखिएको छ। घटनामा संलग्न अन्य व्यक्तिको खोजी तथा उद्धार गरिएका महिलामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्