काठमाडौं । लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। बाढी, पहिरो, हिलो जम्ने तथा सडक भासिने समस्या देखिएपछि केही सडकखण्डमा रातिको समयमा सवारीसाधन सञ्चालनमा समेत रोक लगाइएको छ।
प्रहरी प्रधान कार्यालयले आज बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, लमजुङ, इलाम, नुवाकोट र मकवानपुरका विभिन्न सडक प्रभावित भएको जनाएको छ।
काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सवारीसाधन सञ्चालन गर्न दिइएको छ।
मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण गएराति ५ बजेदेखि आज बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालन बन्द गरिएको प्रहरीले जनाएको छ।
नुवाकोटको टोखा–छहरे सडकखण्डमा अत्यावश्यक सेवाका सवारीसाधनबाहेक अन्य सार्वजनिक तथा निजी सवारीसाधनको राति १० बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द गरिएको छ। अर्को सूचना जारी नभएसम्म उक्त सडकमा सवारीसाधन सञ्चालन गर्न नपाइने प्रहरीले जनाएको छ।
इलाम नगरपालिका–९ राजदुवालीमा हिलो जमेर मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त स्थानमा वैकल्पिक मार्ग भने उपलब्ध रहेको प्रहरीले जनाएको छ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्गमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। सोही गाउँपालिकाको लिपिङस्थित सडक भासिएपछि पनि राजमार्गको आवागमन प्रभावित भएको छ।
रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडकखण्ड त्रिशूली नदीले कटान गरेपछि पूर्ण रूपमा बन्द भएको छ। गोसाइँकुण्ड गाउँपालिका–२ स्याउपार्किङमा बिहीबार अपराह्न पहिरो खसेपछि पासाङल्हामु सडकसमेत अवरुद्ध भएको छ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलास्थित भेरी करिडोरको जाजरकोट–डोल्पा सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा बन्द छ। त्यस्तै, लमजुङको बेँसीसहर–मनाङ सडकअन्तर्गत मर्स्याङ्दी गाउँपालिका–४ रामबजारमा पहिरो खसेपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।
प्रहरीले सडक अवरुद्ध भएका स्थानमा पहिरो तथा बाढीको जोखिम कायमै रहेकाले यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ। अवस्था हेरी आवश्यकताअनुसार वैकल्पिक मार्ग प्रयोग गर्नसमेत सम्बन्धित सबैलाई अनुरोध गरिएको छ।
Originally published on abcnews.com.np.

















प्रतिक्रिया दिनुहोस्