विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज सोमबार प्रदेश सभाबाट विश्वासको मत लिँदैछन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत शुक्रबार नै विश्वासको मत लिन लागेको जानकारी प्रदेश सभा सचिवालयलाई गराइसकेको छ।
नयाँ सत्ता समीकरणअनुसार नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच भएको सहमतिपछि मुख्यमन्त्री कार्कीले गत सोमबार मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए। नेपाली कम्युनिस्ट पार्टीका १७ जना प्रदेश सभा सदस्य सरकारमा सहभागी भएपछि मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन्।
यसअघि नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म विश्वासको मत नलिने अडानमा रहेका कार्कीले सत्ता समीकरण परिवर्तनसँगै विश्वासको मत लिन प्रक्रिया अघि बढाएका हुन्।
नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा कोशी प्रदेश सभा नियमावली, २०७४ को नियम १२८ बमोजिम मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन्।
हाल ९३ सदस्यीय कोशी प्रदेश सभामा एमालेका ४० र नेपाली कम्युनिस्ट पार्टीका १७ गरी ५७ जना सांसद मुख्यमन्त्री कार्कीको पक्षमा छन्। प्रदेश सभामा नेपाली कांग्रेसका २९, राष्ट्रिय प्रजातन्त्र पार्टीका सभामुखसहित ५ र जनता समाजवादी पार्टीका १ सांसद छन्।
विश्वासको मतका लागि साधारण बहुमत आवश्यक पर्ने भएकाले कार्की नेतृत्वको सरकारलाई बहुमत जुटाउन कठिन देखिँदैन।
विश्वासको मतको प्रक्रिया
संविधानको धारा १६८ को उपधारा (४) अनुसार मुख्यमन्त्रीले नियुक्त भएको ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ।
सोही व्यवस्थाअनुसार आज प्रदेश सभामा मुख्यमन्त्री कार्कीले विश्वासको मतका लागि प्रस्ताव पेस गर्नेछन्। प्रस्तावमाथि छलफल भएपछि प्रदेश सभामा मतदान हुनेछ।
कोशी प्रदेश सभा नियमावली, २०७४ को नियम १२८ अनुसार विश्वासको मत प्राप्त गर्न प्रदेश सभाको साधारण बहुमत आवश्यक पर्नेछ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्