काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज (मङ्गलबार) बस्दैछ। प्रतिनिधिसभामा विभिन्न विधेयक प्रस्तुत गर्ने, दफावार छलफलका लागि समितिमा पठाउने तथा अन्तर्राष्ट्रिय सम्झौता पेस गर्ने कार्यसूची रहेको छ भने राष्ट्रियसभामा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयकमाथि छलफलको प्रक्रिया अघि बढाइने भएको छ।
प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे सिंहदरबारमा बस्ने कार्यसूची छ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।
त्यस्तै, मन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि प्रतिनिधिसभामा प्रस्तुत गर्नुहुनेछ।
अन्तर्राष्ट्रिय सामुद्रिक सम्झौता पनि पेस हुँदै
आजको बैठकमा कानुनमन्त्री गौतमले संयुक्त राष्ट्रसङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका समुद्री क्षेत्रको जैविक विविधता संरक्षण तथा दिगो उपयोगसम्बन्धी सम्झौता पनि पेस गर्ने कार्यसूची रहेको छ।
यस सम्झौता पेससँगै नेपालले अन्तर्राष्ट्रिय सामुद्रिक जैविक विविधता संरक्षणसम्बन्धी विषयमा संसदीय प्रक्रियामार्फत छलफल अघि बढाउने भएको छ।
बालश्रमसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ।
प्रस्ताव प्रतिनिधिसभाबाट स्वीकृत भएमा विधेयकमाथि सम्बन्धित समितिमा दफावार छलफल सुरु हुनेछ।
राष्ट्रियसभामा विशेष सेवा ऐनसम्बन्धी विधेयक
यसैबीच, राष्ट्रियसभाको बैठक बिहान १०ः१५ बजे बस्ने कार्यसूची रहेको छ।
बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ।
आजको कार्यसूचीअनुसार सङ्घीय संसद्का दुवै सदनमा विधेयक निर्माण र संसदीय प्रक्रियालाई अघि बढाउने महत्वपूर्ण कार्यहरू तय भएका छन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्