नुवाकोट । भोटेकोसी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकका लागि पठाइएको राहत सामग्री ११ वटा ट्रकमार्फत नुवाकोटको त्रिशूली पुगेको छ।
नेपाली सेनाका अनुसार त्रिशूलीमा ल्याइएको राहत सामग्री आवश्यकताका आधारमा हेलिकप्टरमार्फत बाढी प्रभावित क्षेत्रहरूमा पठाएर वितरण गरिनेछ। केही स्थानमा भने राहत सामग्री पुर्याउने काम यसअघि नै भइसकेको छ।
सेनाले हालसम्म टिमुरेमा चार सटल राहत सामग्री पठाइसकेको जनाएको छ।
घाइतेको उपचारका लागि मेडिकल टिम थप
बाढीमा परी घाइते भएकाहरूको उपचारका लागि त्रिशूलीमा थप मेडिकल टिम परिचालन गरिएको सेनाले जनाएको छ। प्रभावित तथा घाइतेलाई तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउन आवश्यक व्यवस्थापन मिलाइएको हो।
सेनाले त्रिशूलीमा भण्डारण गरिएको राहत सामग्रीलाई आवश्यकताअनुसार प्रभावित क्षेत्रमा पुर्याउने तयारी गरेको छ। दुर्गम तथा सडक सम्पर्क विच्छेद भएका स्थानमा भने हेलिकप्टरबाट राहत सामग्री पठाउने कार्यलाई प्राथमिकता दिइएको जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्