काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपद्को समयमा सबै राजनीतिक दल तथा राज्यका संयन्त्रहरू एकजुट भएर काम गर्नुपर्ने बताएका छन्।
सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री वाग्लेले राष्ट्रिय संकटका बेला सबै दल एक ठाउँमा उभिने संस्कार विकास हुँदै गएको बताए।
“राष्ट्रिय संकटका घडीमा सबै दलहरू, सबै पक्षहरू एकठाउँमा उभिने एउटा संस्कार बन्दै गएको छ,” उनले भने, “सबै दलका नेताहरूसँग हामीले छलफल गर्यौँ । उद्धार र राहतपछि पुनर्उत्थानको पालो आउँछ । अहिले त्यसमै जुट्ने विषयमा समझदारी भएको छ।”
२२ हेलिकोप्टरबाट उद्धार
मन्त्री वाग्लेले बाढी प्रभावित क्षेत्रमा २२ वटा हेलिकोप्टर परिचालन गरी उद्धार कार्य भइरहेको जानकारी दिए।
उनका अनुसार अहिले सरकारको प्राथमिकता फसेका तथा जोखिममा रहेका नागरिकको उद्धार, राहत वितरण र त्यसपछि प्रभावित क्षेत्रको पुनर्उत्थानमा केन्द्रित रहेको छ। सर्वदलीय छलफलबाट पनि उद्धार तथा राहतपछि पुनर्निर्माण र पुनर्उत्थानमा सहकार्य गर्ने समझदारी बनेको उनले बताए।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्