काठमाडौं । रसुवास्थित भोटेकोसी तथा त्रिशूली नदीमा आएको बाढीपछि नारायणी नदीबाट हालसम्म ६७ वटा शव संकलन गरिएको छ। चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार, नदीमा बगेर आएका शवहरू संकलन गरिएको हो।
संकलित शवहरूलाई विभिन्न अस्पतालमा सुरक्षित राखिएको छ। शवको पहिचान तथा आवश्यक कानुनी प्रक्रिया पूरा गर्ने काम भइरहेको शर्माले जानकारी दिए।
बुधबार बिहान तिब्बततर्फबाट आएको भीषण बाढीले रसुवा, नुवाकोटलगायत जिल्लामा ठूलो क्षति पुर्याएको थियो। बाढी तथा पहिरोमा परी बेपत्ता भएकाहरूका शव भोटेकोसी हुँदै त्रिशूली र नारायणी नदीमार्फत चितवनसम्म बगेर आएको हुनसक्ने आशंका गरिएको छ। त्यसैले नारायणी नदी तथा आसपासका क्षेत्रमा खोजी कार्य जारी राखिएको छ।
शव व्यवस्थापनमा समस्या
शवको संख्या बढ्दै गएपछि चितवनमा शव व्यवस्थापनको समस्या देखिएको छ। जिल्लामा एकपटकमा करिब ५० वटा शव मात्र सुरक्षित राख्न सकिने क्षमता रहेकाले थप शव व्यवस्थापनका लागि वैकल्पिक तयारी थालिएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी रामेश्वर पौडेलका अनुसार, शव राख्ने स्थानको अभाव भएपछि प्रयोगमा नरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयको भवनमा कोल्ड स्टोर निर्माण गरी शव व्यवस्थापन गर्ने तयारी भइरहेको छ।
खोजी कार्य जारी
रसुवा तथा नुवाकोटमा बाढीबाट ठूलो जनधनको क्षति भएको र अझै केही व्यक्ति सम्पर्कविहीन रहेकाले नदीबाट थप शव फेला पर्न सक्ने सम्भावना रहेको प्रशासनले जनाएको छ।
नारायणी नदी तथा आसपासका क्षेत्रमा सुरक्षा निकायले खोजी कार्यलाई निरन्तरता दिइरहेको छ। संकलित शवको पहिचान तथा आफन्तलाई बुझाउने प्रक्रिया पनि सँगसँगै अघि बढाइने जनाइएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्