काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले विपद् व्यवस्थापन तथा प्रभावित नागरिकलाई सहयोग गर्न सर्वदलीय संयन्त्र निर्माण गरी परिचालन गर्न प्रस्ताव गर्नुभएको छ ।
उहाँले सदनमा रहेका र नरहेका सबै राजनीतिक दललाई एकजुट बनाएर विपद्का बेला उद्धार, राहत तथा सहयोगका काम प्रभावकारी रूपमा अघि बढाउनुपर्ने बताउनुभएको हो ।
थापाले कांग्रेसका तर्फबाट तत्कालै नगद सहयोगको व्यवस्था गर्नुका साथै विपद् प्रभावित क्षेत्रमा स्वयंसेवक परिचालन गर्ने जानकारी दिनुभएको छ । उहाँले विगतका प्राकृतिक विपद्का समयमा गरिएका उद्धार तथा राहतका प्रयासबाट प्राप्त अनुभवलाई उपयोग गर्दै सबै दल मिलेर संयुक्त रूपमा काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।
उहाँका अनुसार राजनीतिक दलहरूले आ–आफ्नो तर्फबाट मात्रै नभई साझा संयन्त्रमार्फत स्रोत, जनशक्ति र स्वयंसेवक परिचालन गर्दा विपद्मा परेका नागरिकलाई छिटो र प्रभावकारी सहयोग पुर्याउन सकिन्छ ।
थापाले विपद्को समयमा राजनीतिक मतभेदभन्दा नागरिकको जीवनरक्षा र राहतलाई प्राथमिकतामा राखेर सबै दल एक ठाउँमा उभिनुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।
पार्टीगत सहयोग
सभापति थापाले कांग्रेसका तर्फबाट तत्कालै नगद सहयोगको व्यवस्था गरिने बताउनुभएको छ । साथै, प्रभावित क्षेत्रमा राहत वितरण तथा आवश्यक सहयोगका लागि पार्टीका स्वयंसेवकलाई परिचालन गर्ने जानकारी दिनुभएको छ ।
विगतका विपद्का अनुभवबाट पाठ सिक्दै आगामी दिनमा पनि यस्ता संकटमा राजनीतिक दलहरूबीच समन्वय र सहकार्यलाई संस्थागत गर्नुपर्ने उहाँको भनाइ छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्