काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बाढी प्रभावित जिल्लाका कर्मचारीलाई अर्को व्यवस्था नभएसम्म कार्यस्थल नछोड्न निर्देशन दिएको छ।
भोटेकोसी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा समन्वयको काम प्रभावकारी बनाउन बिहीबार बसेको मन्त्रालयको उच्च व्यवस्थापन समूहको बैठकले मातहतका कर्मचारीका लागि सातबुँदे निर्देशन जारी गरेको हो।
स्थानीय तहलाई उद्धार र राहतमा परिचालन
मन्त्रालयले बाढी प्रभावित सबै स्थानीय तहलाई सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समितिसँग समन्वय गरी उद्धार तथा राहत कार्यमा आवश्यक सहयोग गर्न निर्देशन दिएको छ।
राहत तथा उद्धारका लागि स्थानीय तहले आफ्नो विपद् व्यवस्थापन कोष तथा अन्य उपलब्ध स्रोतबाट नियमानुसार बजेट परिचालन गर्नसमेत भनिएको छ।
त्यस्तै, स्थानीय तहका कार्यालय तथा अन्य संरचनामा भएको क्षतिको विवरण संकलन तथा अद्यावधिक गर्न निर्देशन दिइएको छ।
विपद् नक्साङ्कन गरिने
मन्त्रालयका अनुसार नापी विभागले प्रभावित क्षेत्रमा निजी तथा सार्वजनिक जग्गामा भएको क्षतिको विवरण संकलन गर्नुका साथै विपद् नक्साङ्कन (Disaster Mapping) गर्नेछ।
संकलित विवरणका आधारमा प्रभावित क्षेत्रमा राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि थप योजना बनाइने मन्त्रालयले जनाएको छ।
कर्मचारीलाई कार्यस्थलमै रहन निर्देशन
मन्त्रालयले अर्को व्यवस्था नभएसम्म बाढी प्रभावित जिल्ला तथा स्थानीय तहमा कार्यरत कर्मचारीलाई कार्यस्थल नछोड्न निर्देशन दिएको छ।
कार्यस्थलभन्दा बाहिर रहेका कर्मचारीलाई समेत अविलम्ब आफ्नो कार्यस्थलमा फर्कन भनिएको छ।
राहत सामग्री व्यवस्थापन, लाभग्राहीको विवरण तयार गर्ने लगायतका काममा थप जनशक्ति आवश्यक परे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग समन्वय गरी जनशक्ति उपलब्ध गराउने मन्त्रालयले जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्