काठमाडौँ । रसुवा तथा आसपासका क्षेत्रमा आएको विनाशकारी बाढी र पहिरोपछि जनधनको ठूलो क्षति भएको छ। नेपाल प्रहरीको तथ्यांकअनुसार बुधबार साँझसम्म ३५९ जनाको शव फेला परेको थियो भने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ९०० भन्दा बढी व्यक्ति अझै सम्पर्कविहीन छन्।
विपद्मा ज्यान गुमाउने र घाइते हुनेको संख्या बढिरहेका बेला बाढी प्रभावित क्षेत्रमा अर्को स्वास्थ्य चुनौती पनि देखिन थालेको छ। दूषित खानेपानी, असुरक्षित खाना, फोहोर व्यवस्थापनको समस्या, भीडभाड र लामखुट्टेको वृद्धिका कारण विभिन्न संक्रामक रोग फैलिने जोखिम बढेको चिकित्सकहरूले बताएका छन्।
उनीहरूका अनुसार हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेङ्गु, मलेरिया तथा श्वासप्रश्वाससम्बन्धी संक्रमणको जोखिम बढ्न सक्छ। समयमै आवश्यक सावधानी र रोग निगरानी नगरिए प्राकृतिक विपत्तिपछि अर्को स्वास्थ्य संकट सिर्जना हुन सक्ने उनीहरूको चेतावनी छ।
बाढी घटे पनि स्वास्थ्य जोखिम रहन्छ
प्रकोपपछि उद्धार, राहत र पुनःस्थापनामा सबैको ध्यान केन्द्रित हुने गरे पनि बाढीको पानी घटेपछि स्वास्थ्य जोखिम समाप्त हुँदैन। विशेषगरी खानेपानीका स्रोतमा ढल, मलमूत्र, फोहोर तथा मृत पशुपन्छीका अवशेष मिसिएमा पानीजन्य रोग फैलिन सक्ने सम्भावना बढ्छ।
नुवाकोटको विदुर नगरपालिकाकी उपप्रमुख प्रभा बोगटीले नदीमा शवहरू बगेर आएको र त्यसको उचित व्यवस्थापन गर्न नसकिए स्वास्थ्य समस्या उत्पन्न हुन सक्ने बताएकी छन्।
बाढीका कारण विभिन्न स्थानमा खानेपानीका पाइपलाइन क्षतिग्रस्त भएका छन् भने कुवा र मुहानमा दूषित पानी पस्ने जोखिम पनि बढेको छ। त्यसैले प्रभावित क्षेत्रमा सुरक्षित खानेपानीको व्यवस्था संक्रामक रोग नियन्त्रणको पहिलो प्राथमिकता हुनुपर्ने चिकित्सकहरूको भनाइ छ।
हैजा र लेप्टोस्पाइरोसिसको जोखिम
जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीका अनुसार टिमुरे, स्याफ्रुबेंसी, बेत्रावती र त्रिशूलीलगायत बाढी प्रभावित क्षेत्रमा पानीजन्य तथा अन्य संक्रामक रोग फैलिने जोखिम बढेको छ।
उनका अनुसार प्रभावित क्षेत्र मात्र होइन, आसपासका बस्तीमा समेत दूषित पानीका कारण हैजाजस्ता रोग फैलिन सक्ने सम्भावना हुन्छ। बाढीपछि गाईवस्तुको मलमूत्र तथा दूषित पानीसँग प्रत्यक्ष सम्पर्क हुँदा लेप्टोस्पाइरोसिसको जोखिम पनि बढ्न सक्छ।
डा. मरासिनीले स्वास्थ्य मन्त्रालय तथा स्थानीय तहले प्रभावित क्षेत्रमा नियमित रोग निगरानी गर्नुपर्नेमा जोड दिएका छन्। कुनै क्षेत्रमा असामान्य रूपमा झाडापखालाका बिरामी बढेमा तत्काल रोगको पहिचान, परीक्षण र उपचार सुरु गर्नुपर्ने उनको सुझाव छ।
राहतमा खाना मात्र होइन, सुरक्षित पानी पनि
संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रमा खाद्यान्नसँगै सुरक्षित खानेपानीको व्यवस्था अत्यन्त महत्वपूर्ण हुन्छ।
विस्थापित व्यक्तिहरूले व्यक्तिगत सरसफाइ र खानपानमा पर्याप्त ध्यान दिन नसक्ने भएकाले राहत तथा उद्धारमा संलग्न निकायले सफा पानी र सरसफाइका सामग्रीलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ।
प्रभावित क्षेत्रमा पानी उमालेर वा स्वास्थ्य निकायले सिफारिस गरेको विधिअनुसार शुद्धीकरण गरेर मात्र पिउनुपर्ने चिकित्सकहरूले सुझाव दिएका छन्। जथाभावी अत्यधिक क्लोरिन प्रयोग गरेर पानी शुद्ध बनाउन खोज्नु पनि उपयुक्त नहुने उनीहरूको भनाइ छ।
बाढीको पानीले छोएको, बिग्रिएको, लामो समय खुला राखिएको वा गन्हाएको खाना प्रयोग गर्नु हुँदैन। खाना राम्ररी पकाएर खानुका साथै व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुपर्ने चिकित्सकहरूले बताएका छन्।
अस्थायी शिविरमा सरसफाइको चुनौती
बाढीले धेरै ठाउँमा शौचालय प्रयोग गर्न नसक्ने अवस्था सिर्जना गरेको छ। विस्थापितहरू बस्ने अस्थायी शिविरमा व्यवस्थित शौचालय, फोहोर व्यवस्थापन र हात धुने सुविधाको व्यवस्था गर्नुपर्ने देखिएको छ।
साबुनपानीले नियमित हात धुनु संक्रमण रोकथामको सरल तर प्रभावकारी उपाय भएको चिकित्सकहरू बताउँछन्।
त्यस्तै, बाढीपछि विभिन्न स्थानमा पानी जम्ने भएकाले लामखुट्टेको संख्या बढ्न सक्छ। यसले डेङ्गु र मलेरियाजस्ता रोगको जोखिम बढाउन सक्ने फ्यामिली फिजिसियन डा. विश्वराज दवाडीले बताएका छन्।
अस्थायी शिविरमा भीडभाड हुने भएकाले रुघाखोकी, फ्लु, निमोनिया तथा छालासम्बन्धी संक्रमण पनि सहजै फैलिन सक्ने जोखिम छ।
रोगका लक्षण देखिए तत्काल स्वास्थ्यकर्मीलाई जानकारी दिन आग्रह
चिकित्सकहरूले ज्वरो आउने, लगातार खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, झाडापखाला लाग्ने, बान्ता हुने वा छालामा संक्रमण देखिनेबित्तिकै स्वास्थ्यकर्मीलाई जानकारी गराउन आग्रह गरेका छन्।
उनीहरूका अनुसार राहत वितरणलाई केवल चामल, दाल र खाद्यान्नमा सीमित गर्नु पर्याप्त हुँदैन। प्रभावित समुदायलाई सफा पानी, पानी शुद्धीकरणका सामग्री, साबुन, सरसफाइ सामग्री तथा आवश्यक औषधिसमेत उपलब्ध गराउनुपर्छ।
विपद्को तत्कालीन उद्धार र राहतसँगै सम्भावित संक्रामक रोग नियन्त्रणका लागि स्वास्थ्य निगरानी र सरसफाइलाई प्राथमिकतामा राख्न नसके बाढीपछि अर्को गम्भीर जनस्वास्थ्य चुनौती सामना गर्नुपर्ने अवस्था आउन सक्ने चिकित्सकहरूले चेतावनी दिएका छन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्