१३ भदौ, सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–६ स्थित जागेश्वर गहिराइ जनता माध्यमिक विद्यालय, सेहरा रौतहटमा शिक्षक तथा कर्मचारी भर्ना प्रक्रियामा आर्थिक चलखेल भएको आरोप लगाउँदै वडाध्यक्ष सूर्यकुमार दासले विद्यालय प्रशासन कक्षमा तालाबन्दी गरेका छन्।
विद्यालयमा रिक्त प्लस टुतर्फ लेखा विषयको एक र अंग्रेजी विषयको एक तथा प्राविधिक धारतर्फ प्रशिक्षक, सहायक प्रशिक्षक र प्रशिक्षण सहायक गरी पाँच पदमा करार नियुक्तिका लागि शनिबार बिहान ९ बजे छनोट परीक्षा सञ्चालन गर्ने तयारी थियो।
तर, छनोट प्रक्रियामा आर्थिक चलखेल तथा मिलेमतो भएको आरोप लगाउँदै वडाध्यक्ष दासले परीक्षा रोक्न विद्यालय प्रशासन कक्षमा तालाबन्दी गरेका हुन्।
दासले विद्यालयका प्रधानाध्यापक भोला यादव, विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा छनोट समितिका संयोजक नथुनी दास र शिक्षा समन्वय तथा विकास कार्यालय सप्तरीका शिक्षा समन्वय अधिकारी शशिकुमार यादवबीच मिलेमतो भएको आरोप लगाएका छन्।
यसअघि गत बुधबारका लागि तोकिएको छनोट परीक्षा पनि विवादपछि स्थगित भएको थियो। शनिबार पुनः परीक्षा सञ्चालन गर्न लागिएपछि आफूले तालाबन्दी गरेको दासले बताए।
दासका अनुसार गत मंगलबार राति शिक्षा समन्वय तथा विकास कार्यालय सप्तरी परिसरमा प्रधानाध्यापक यादव र विद्यालय व्यवस्थापन समिति अध्यक्ष नथुनी दासले शिक्षा समन्वय अधिकारी यादवसँग शिक्षक भर्नाका लागि ‘सेटिङ’ गरिरहेको आरोप लगाउँदै उनी साँझ ७ बजेदेखि राति साढे ९ बजेसम्म कार्यालयको गेटमा धर्नामा बसेका थिए।
त्यसपछि प्रधानाध्यापक यादवले मंगलबार राति सामाजिक सञ्जालमार्फत अर्को सूचना नआएसम्म परीक्षा स्थगित गरिएको जानकारी सार्वजनिक गरेका थिए। तर, सोही राति पुनः अर्को सूचना जारी गरी शनिबार परीक्षा सञ्चालन गर्ने मिति तोकिएको दासको भनाइ छ।
यस विषयमा प्रधानाध्यापक भोला यादवसँग प्रतिक्रिया लिन पटक–पटक सम्पर्क गर्ने प्रयास गरिए पनि उनी सम्पर्कमा आएनन्।
यता, वडाध्यक्ष दासले जिल्ला प्रशासन कार्यालय सप्तरीमा भदौ १० गते दिएको निवेदनमाथि छलफल नभएसम्म विद्यालयमा लगाइएको तालाबन्दी नखोल्ने चेतावनी दिएका छन्।
उनले शिक्षक तथा कर्मचारी छनोट प्रक्रिया निष्पक्ष र पारदर्शी हुनुपर्ने भन्दै आफूले उठाएका विषयमा सम्बन्धित निकायबाट छानबिन र स्पष्ट जवाफ नआएसम्म परीक्षा सञ्चालन गर्न नदिने बताएका छन्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्