काठमाडौं । नेपालमा भोटेकोशी बाढीपछि उत्पन्न विपद् व्यवस्थापनका लागि चीनले नेपाललाई २० लाख अमेरिकी डलर नगद सहयोग गर्ने भएको छ ।
परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार चीनले नगद सहयोगसँगै राहत सामग्री बोकेका दुईवटा कार्गो विमान नेपाल पठाउँदै छ । साथै, बाढीबाट प्रभावित जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य जोखिमपूर्ण संरचनामा फसेकाको उद्धारका लागि सुरुङ उद्धारसम्बन्धी विज्ञहरूको दुईवटा टोलीसमेत नेपाल पठाइने भएको छ ।
चीनबाट आउने सहयोग विपद् प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा उपयोग गरिने सरकारले जनाएको छ ।
भोटेकोशी बाढीपछि नेपालले प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्स्थापनाका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाइरहेको छ । विशेषगरी रसुवा र नुवाकोटका जलविद्युत् आयोजनाका सुरुङमा मानिस फसेको आशंकापछि प्राविधिक रूपमा दक्ष उद्धार टोलीको आवश्यकता बढेको छ ।
यसअघि भारतले राहत सामग्रीसहितको सहयोग नेपाल पठाइसकेको छ भने उद्धार तथा स्वास्थ्यसम्बन्धी थप सहयोगका लागि समेत भारतीय टोली नेपाल आइपुगेको छ ।
त्यसैगरी विभिन्न मुलुक तथा अन्तर्राष्ट्रिय संस्थाहरूले नेपाललाई आर्थिक तथा मानवीय सहयोगको प्रतिबद्धता जनाएका छन् ।
भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएपछि अहिले सरकारको प्राथमिकता बेपत्ताको खोजी, घाइतेको उपचार, प्रभावितको उद्धार तथा तत्काल राहत वितरणमा केन्द्रित रहेको छ । चीनसहित अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोगले विपद् व्यवस्थापन तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्