काठमाडौं । रसुवाको भोटेकोसीमा आएको बाढीमा परेर सम्पर्कविहीन भएका १६ देशका २६१ विदेशी पर्यटकको उद्धार गरिएको छ।
नेपाल पर्यटन बोर्डका अनुसार शनिबार साँझसम्म भारत, चीनसहित विभिन्न देशका पर्यटकको उद्धार गरिएको हो। उद्धार गरिएकामध्ये भारतका १६७, चीनका ४० तथा अन्य विभिन्न देशका पर्यटक रहेका छन्। २१ जनाको भने देश र परिचय खुल्न सकेको छैन।
बोर्डका अनुसार बाढीमा परेर अझै ३२० पर्यटक सम्पर्कविहीन छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन बोर्ड, पर्यटक प्रहरीलगायत निकायले प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई तीव्रता दिएका छन्।
घाइते तथा अलपत्र पर्यटकलाई सुरक्षित स्थानमा ल्याउन आवश्यक प्रयास भइरहेको बोर्डले जनाएको छ। सहयोग वा जानकारीका लागि टोल फ्री नम्बर १२३४, हटलाइन ११४४ र पर्यटन प्रहरी ९८५१२८९४४५ मा सम्पर्क गर्न आग्रह गरिएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्