काठमाडौं । भोटेकोसीमा गत बुधबार आएको विनाशकारी बाढीपछि नेपाली सेनाले २१६ जना विदेशी पर्यटकको हेलिकोप्टरमार्फत उद्धार गरेको छ।
भदौ १४ गते बिहान ७ बजेसम्मको विवरणअनुसार सेनाले टिमुरे, स्याफ्रुबेँसी, धुन्चे र मैलुङ क्षेत्रबाट विदेशी पर्यटकको हवाई उद्धार गरेको हो।
उद्धार गरिएका विदेशी पर्यटकमध्ये १२१ जना भारतीय, ७२ जना चिनियाँ, १५ जना दक्षिण कोरियाली, चार जना जर्मन, दुई जना अमेरिकी, दुई जना इटालियन र एक जना ओमानी नागरिक रहेका छन्।
नेपाली सेनाका अनुसार बाढी प्रभावित क्षेत्रबाट हवाई तथा स्थलमार्गमार्फत हालसम्म दुई हजार ६९७ जनाको उद्धार गरिएको छ। उद्धार तथा राहत कार्यका लागि प्रभावित जिल्लामा नेपाली सेनाका आठ हजार तीन सयभन्दा बढी जनशक्ति परिचालन भएका छन्।
यसैबीच, सेनाले विभिन्न उपकरण प्रयोग गरी बाढीबाट प्रभावित जलविद्युत् आयोजनाका सुरुङको प्रवेशद्वार पत्ता लगाउने कामसमेत जारी राखेको छ। त्रिशूली हाइड्रोपावरको ३ ‘ए’ सुरुङको प्रवेशद्वार पत्ता लगाउन रातभर खोजी गरिएको सेनाले जनाएको छ।
तर, राति २ बजेपछि भएको भारी वर्षा र खोलाको जलसतह बढेका कारण खाल्डोमा समेत पानी भरिएपछि खोजी तथा उत्खनन कार्य केही समय रोकिएको सेनाले जनाएको छ।
सेनाले मौसम तथा भौगोलिक अवस्था अनुकूल भएसँगै खोजी तथा उद्धार कार्यलाई पुनः निरन्तरता दिने जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्