काठमाडौं । नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना क्षेत्रमा बाढीका कारण फसेका मानिसहरूको उद्धारका लागि नेपाली सेनाले एक्स्काभेटर र डोजर आयोजनास्थलतर्फ पुर्याउने काम अघि बढाएको छ।
प्रधानमन्त्री कार्यालयका अनुसार उपकरणलाई नुवाकोटको बट्टारसम्म ल्याएर खण्ड–खण्ड (डिसमेन्टल) गरिएको छ। त्यसपछि हेलिकप्टरमार्फत आयोजनास्थलतर्फ लैजाने व्यवस्था मिलाइएको हो। बाढी प्रभावित क्षेत्रमा फसेका नागरिकको उद्धारका लागि नेपाली सेनासहितको टोली अहोरात्र खटिएको छ। गएराति पुनः भीषण बाढी आए पनि उद्धार प्रयासलाई निरन्तरता दिइएको जनाइएको छ। नेपाली सेनाका अनुसार सुरुङको प्रवेशद्वार (टनेल इन्ट्री) खोल्ने ‘ब्रेक थ्रु’को काम करिब एक घण्टाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। सुरुङको प्रवेशद्वार खुलेपछि मात्रै आयोजनाभित्र फसेका मानिसहरूको अवस्था यकिन गरी खोजी तथा उद्धार कार्य अघि बढाइने सेनाले जनाएको छ।
Originally published on abcnews.com.np.


प्रतिक्रिया दिनुहोस्