काठमाडौं, । संघीय सरकारले भोटेकोसी बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङका स्थानीय तहलाई ६ करोड ७५ लाख रुपैयाँ नगद राहत पठाएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आइतबारसम्म तीन जिल्लाका १५ स्थानीय तहमा उक्त रकम पठाइएको हो।
प्राधिकरणका अनुसार रसुवा र नुवाकोटका स्थानीय तहलाई एक–एक करोड रुपैयाँ तथा धादिङका स्थानीय तहलाई ५० लाख रुपैयाँका दरले नगद राहत पठाइएको छ।
बाढी प्रभावितको राहत तथा उद्धारका लागि सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा सहयोग गर्न सार्वजनिक अपिलसमेत गरेको थियो। पछिल्लो विवरणअनुसार ती कोषमा हालसम्म ४ अर्ब ३८ करोड रुपैयाँ र ६ लाख ८० हजार अमेरिकी डलर जम्मा भइसकेको प्राधिकरणले जनाएको छ।
यसैगरी, प्रभावित क्षेत्रमा राहत सामग्री पुर्याउने कामलाई पनि तीव्रता दिइएको छ। प्राधिकरणका अनुसार हालसम्म ३७ ट्रक र १३ बोलेरोमार्फत खाद्य तथा गैरखाद्य सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ।
हेलिकप्टरबाट समेत आठ वटा उडान गरी खाद्य तथा गैरखाद्य सामग्री प्रभावित क्षेत्रमा पुर्याइएको छ। प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क सहज बनाउन सञ्चार सेटसमेत पठाइएको प्राधिकरणले जनाएको छ।
Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्