काठमाडौं । संघीय सरकारले भोटेकोसी बाढी प्रभावित जिल्लाका स्थानीय तहलाई ६ करोड ७५ लाख रुपैयाँ नगद राहत पठाएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आइतबारसम्म रसुवा, नुवाकोट र धादिङका १५ स्थानीय तहमा उक्त रकम पठाइएको हो। प्राधिकरणका अनुसार रसुवा र नुवाकोटमा एक–एक करोड रुपैयाँ तथा धादिङमा ५० लाख रुपैयाँका दरले नगद राहत उपलब्ध गराइएको छ। यसैबीच, सरकारले बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा सहयोग गर्न अपिल गरेको थियो। पछिल्लो विवरणअनुसार ती कोषमा चार अर्ब ३८ करोड रुपैयाँ र ६ लाख ८० हजार अमेरिकी डलर जम्मा भइसकेको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार प्रभावित क्षेत्रमा हालसम्म ३७ ट्रक र १३ बोलेरो मार्फत खाद्य तथा गैरखाद्य सामग्री पठाइएको छ। यस्तै, हेलिकप्टरबाट आठ वटा उडान गरी खाद्य तथा गैरखाद्य सामग्री प्रभावित क्षेत्रमा पुर्याइएको छ। प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क सहज बनाउन आवश्यक सञ्चार सेटसमेत पठाइएको प्राधिकरणले जनाएको छ।
Originally published on abcnews.com.np.


प्रतिक्रिया दिनुहोस्