नेपालगन्ज । बाँकेको नेपाल–भारत सीमास्थित नेपालगन्ज रोडबाट भारतका प्रमुख धार्मिक सहर अयोध्या, गोरखपुर र बनारससम्म सिधा ब्रोडगेज रेल सेवा सञ्चालनमा आएको छ।
सोमबारदेखि सुरु भएको रेल सेवाले नेपाल र भारतबीच धार्मिक पर्यटकको आवागमन सहज बनाउनुका साथै सीमावर्ती क्षेत्रमा व्यापार तथा आर्थिक गतिविधि विस्तारमा समेत नयाँ सम्भावना सिर्जना गर्ने अपेक्षा गरिएको छ।
भारतका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र केन्द्रीय रेलमन्त्री अश्विनी वैष्णवले संयुक्त रूपमा रेल सेवाको उद्घाटन गरेका हुन्।
धार्मिक पर्यटनमा नयाँ ढोका
लामो समयको प्रतीक्षापछि सुरु भएको रेल सेवाले पश्चिम नेपालका नागरिकलाई भारतका प्रमुख धार्मिक गन्तव्यसम्म पुग्न सहज बनाउने पर्यटन प्रवर्द्धन मञ्च, बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले बताए।
उनका अनुसार नेपालबाट अयोध्या, गोरखपुर र बनारस जाने नेपाली तीर्थयात्रीलाई सहज हुनुका साथै भारतबाट नेपालगन्ज हुँदै बागेश्वरी मन्दिर, प्युठानको स्वर्गद्वारी तथा कैलाश–मानसरोवर जाने भारतीय तीर्थयात्रीलाई पनि आवागमनमा सुविधा हुनेछ।
“अब पश्चिम नेपालका नेपालीका लागि अयोध्याको राम मन्दिर, गोरखपुरको गोरखधाम र बनारसको विश्वनाथ मन्दिर पुग्न सहज भएको छ,” श्रेष्ठले भने, “त्यसैगरी उताका धार्मिक पर्यटकलाई पनि नेपालका धार्मिकस्थल पुग्न निकै सहज भएको छ।”
नेपालगन्जले प्रत्यक्ष लाभ पाउने अपेक्षा
नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले नेपालगन्ज नजिकैबाट यस्तो रेल सेवा सुरु भएपछि यसको प्रत्यक्ष लाभ सबैभन्दा पहिले नेपालगन्जले पाउने बताए।
उनका अनुसार रेल सेवाले दुई देशबीच धार्मिक पर्यटकको आवागमन बढाउनुका साथै होटल, यातायात, पर्यटन, व्यापार तथा अन्य सेवा क्षेत्रमा आर्थिक गतिविधि बढाउन सहयोग गर्नेछ।
नेपालगन्ज–अयोध्या–गोरखपुर–बनारस रेल सम्पर्कले पश्चिम नेपाल र उत्तर प्रदेशबीचको धार्मिक तथा आर्थिक सम्बन्धलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।
Originally published on abcnews.com.np.


प्रतिक्रिया दिनुहोस्