धनगढी । रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि कैलाली उद्योग वाणिज्य संघले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने भएको छ । संघको बुधबार बसेको बैठकले बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित नागरिक, व्यवसायी तथा पीडित परिवारप्रति समवेदना व्यक्त गरेको छ । साथै, घाइते तथा प्रभावितको शीघ्र उद्धार, उपचार र राहतका लागि सम्बन्धित सबै पक्षलाई सक्रिय हुन अपिल गरेको छ ।
संघका तर्फबाट उक्त रकम सरकारको राहत कोषमा जम्मा गरिनेछ । भोटेकोसी बाढीमा परेका सुदूरपश्चिमका पीडित तथा ज्यान गुमाएका परिवारलाई राहत सहयोग उपलब्ध गराउन पहल गर्ने निर्णय गरिएको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्करराज ओझाले जानकारी दिए । सरकारबाट आधिकारिक तथा वास्तविक तथ्यांक प्राप्त भएपछि थप राहत उपलब्ध गराउने निर्णयसमेत गरिएको अध्यक्ष ओझाले बताए ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्