काठमाडौं। दुई साताअघि आएको बाढीले रसुवा, नुवाकोट र धादिङका नदी किनारका बस्तीमा थुपारेको फोहोर, कुहिएका खाद्यान्न र मरेका पशुबाट दुर्गन्ध फैलिन थालेसँगै संक्रमणजन्य रोगको जोखिम बढेको छ।
बाढीले खानेपानीका मुहान र वितरण प्रणालीमा क्षति पुर्याएपछि दूषित पानीका कारण झाडापखाला, हैजा, टाइफाइड, हेपाटाइटिस ‘ए’ तथा ‘ई’ लगायत पानीजन्य रोग फैलिन सक्ने चिकित्सकहरूले बताएका छन्। यस्तै, लामो समय पानी जम्दा डेंगी र मलेरियाको जोखिमसमेत बढेको छ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. विमल चालिसेका अनुसार बाढीले विभिन्न ठाउँबाट बगाएर ल्याएको फोहोरले खानेपानीका मुहान प्रदूषित गर्न सक्छ।
उनका अनुसार विपद्पछि सुरक्षित खानेपानी र व्यक्तिगत सरसफाइमा ध्यान नदिए संक्रमण फैलिँदै महामारीको रूप लिन सक्छ। विशेषगरी अस्थायी शिविर तथा होल्डिङ सेन्टरमा बस्नेहरूले खानेपानी र सरसफाइमा विशेष सावधानी अपनाउनुपर्ने चिकित्सकहरूको सुझाव छ।
स्वास्थ्य मन्त्रालयका अनुसार नुवाकोटका होल्डिङ सेन्टरमा परीक्षण गरिएका खानेपानीका १५ वटै नमुना प्रयोग गर्न नमिल्ने पाइएको थियो। त्यसपछि ती स्थानमा पानी शुद्धीकरण गरिएको मन्त्रालयले जनाएको छ।
राष्ट्रिय ट्रमा सेन्टरबाट नुवाकोट पुगेका चिकित्सक डा. दीपेन्द्र पाण्डेका अनुसार बाढी प्रभावित क्षेत्रमा फोहोर, मरेका जनावर र दूषित पानीका कारण झाडापखाला, हैजा, टाइफाइड तथा हेपाटाइटिसको जोखिम देखिएको छ।
उनका अनुसार हिलो र दूषित पानीका कारण छालामा एलर्जी तथा फङ्गल संक्रमणका बिरामीसमेत देखिन थालेका छन्। बालबालिका, गर्भवती, सुत्केरी र ज्येष्ठ नागरिक बढी जोखिममा छन्।
वेत्रावती क्षेत्रमा विद्यालय तथा अस्थायी आश्रयस्थलमा धेरै मानिसलाई एउटै ठाउँमा राखिएकाले जोखिम थप बढेको स्थानीयको भनाइ छ। पर्याप्त खानेपानीको अभाव र दुर्गन्धका कारण स्वास्थ्य समस्या बढ्न सक्ने चिन्ता स्थानीयले गरेका छन्।
स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले भने विपद्को दोस्रो दिनदेखि नै संक्रामक रोगको निगरानी सुरु गरिएको जनाएको छ। होल्डिङ सेन्टरहरूमा स्वास्थ्यकर्मी र औषधिसहितका टोली परिचालन गरिएको छ।
महाशाखाका डा. अमृत पोखरेलका अनुसार केही व्यक्तिमा झाडापखाला देखिए पनि हालसम्म संक्रामक रूपमा फैलिएको छैन। तर जोखिम उच्च रहेकाले निगरानी र उपचारलाई निरन्तरता दिइएको छ।
रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप
बाढीका कारण खानेपानीका मुहान प्रदूषित भएपछि हैजा फैलिन सक्ने जोखिमलाई ध्यान दिँदै सरकारले रसुवामा हैजाविरुद्धको खोप पठाएको छ।
विश्व स्वास्थ्य संगठनको सहयोगमा प्राप्त २१ हजार डोज ओरल कोलेरा भ्याक्सिन नेपाली सेनाको हेलिकप्टरमार्फत आइतबार बिहान रसुवा पठाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार प्रभावित क्षेत्रमा रोकथाम, शीघ्र पहिचान र उपचार व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ। केही दिनभित्रै खोप अभियान सञ्चालन गर्ने तयारी छ।
हैजा दूषित पानी तथा खानाबाट सर्ने संक्रामक रोग हो। समयमै नियन्त्रण गर्न नसके यसले गम्भीर रूप लिन सक्ने भएकाले बाढी प्रभावित क्षेत्रमा सुरक्षित खानेपानी, सरसफाइ र रोगको निगरानीलाई प्राथमिकता दिन स्वास्थ्यकर्मीहरूले आग्रह गरेका छन्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्